Logo
२४ असार २०८२, मंगलबार

रसुवामा बाढीको विपत्ति: करोडौंको सम्पत्ति नष्ट, १८ बेपत्ता

अक्षरपाटी
२०८२ असार २४ , मंगलबार ०२:०७ मा प्रकाशित

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको राति आएको भीषण बाढीले नेपाल भित्रिएका करोडौं मूल्यका विद्युतीय गाडी (ईभी) बगाएको छ । राति करिब ३ बजे आएको बाढीले रसुवागढी भन्सार परिसरमा रहेको चार्जिङ स्टेसनसमेत पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चीनबाट आयात गरिएका र भन्सार जाँचपासका लागि राखिएका करिब ६ देखि ७ ओटा नयाँ ईभी गाडी बाढीले बगाएको अनुमान छ । ती गाडी खोला किनारमै रहेको पार्किङ क्षेत्रमा राखिएको र व्यवसायीले काठमाडौँ ल्याउने तयारी गरिरहेका थिए ।

बाढीले चीनबाट आयात हुने गाडी चार्ज गर्न खोलाको किनारमै निर्माण गरिएको चार्जिङ स्टेसनमा पनि पूर्ण क्षति पुर्‍याएको छ । “चीनबाट आउने गाडी चार्ज गर्न चार्जिङ स्टेसन खोलाको किनारमै बनाइएको थियो,” जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी सई ज्योतिराम बीसीले भने, “नदीको बहाव अझै घटिसकेको छैन, त्यसैले क्षतिको यकिन विवरण आउन बाँकी छ ।”

त्यसैगरी, चीनतर्फ परेको अविरल वर्षाका कारण भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । पुल बगेपछि रसुवागढी नाका हुँदै सवारीसाधनको आयात–निर्यात पूर्ण रूपमा ठप्प भएको छ ।

बाढीले रसुवागढी हाइड्रोपावरमा समेत क्षति पुर्‍याएको छ भने हालसम्म १८ जना बेपत्ता भएको र ९ जनाको सकुशल उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढीको विपत्ति भोटेकोशी नदी रसुवा