Logo
२७ असार २०८२, शुक्रबार

‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अर्पण

अक्षरपाटी
२०८२ असार २६ , बिहीबार ०९:०७ मा प्रकाशित

काठमाडौं । सार्वजनिक प्रशासन, समावेशी न्याय र संस्थागत नेतृत्वको क्षेत्रमा मदन पुरस्कार जस्तै मानिने यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अर्पण गरिएको छ।

नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा आज विशेष समारोहबीच सो सम्मान प्रदान गरिएको हो।

श्रेष्ठलाई अभिनन्दनपत्रसहित नगद दुई लाख राशिको सम्मान अर्पण गरिएको हो।

संविधानसभा निर्वाचन, द्वन्द्वपछिको संक्रमणकाल, समावेशी लोकतन्त्र र वातावरणीय न्यायका संवेदनशील मुद्दामा न्यायिक सक्रियता देखाउँदै न्याय प्रणालीलाई अग्रगामी दिशा दिएका श्रेष्ठ नेपालको २५औं प्रधानन्यायाधीश हुन।

सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठका विचार, अडान र फैसलाको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मधुरमण आर्चायले जानकारी दिए।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठको नाम सिफारिस गरेको हो।

छनोट समितिमा संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्वसहसचिव जीवराज कोइराला सदस्य तथा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा आमन्त्रित सदस्य रहेका थिए।

ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले सँधै आफ्नो सेवासुविधाको वास्ता नगरी साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिएको योगदनाको कदर गर्दै २०७५ सालमा सो सम्मान स्थापना गरिएको हो।

साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जन–प्रशासन संघले यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य र डा भेषबहादुर थापा जस्ता व्यक्तित्वलाई सो सम्मान प्रदान गरिसकेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड २०२० साल भाद्र २७ गते बिहीबारका दिन स्थापना भएको हो।

नेपालमा नूनको स्रोत नभएको कारण र तत्कालिन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालई नून पुर्याउन ठूलो चुनौती थियो त्यस्तो परिस्थितमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालिन श्री ५ को सरकार, श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था एवं त्यसबेला नूनको कारोबारमा लागेका मुख्य व्यापारीहरूलाई समावेश गरेर साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्थापना गरिएको कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले बताए।

कल्याण श्रेष्ठ ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड पूर्वप्रधानन्यायाधीश हेमबहादुर मल्ल सम्मान