ललितपुर। एजुकेशनल थिएटर इन नेपालले ‘भ्वाइसेस अफ कम्प्यासन एनिमल राइट्सका लागि कम्युनिटी थिएटर’ अभियान गर्दै आएको छ।
द पोलिनेशन प्रोजेक्ट फाउन्डेसनको साझेदारीमा हालै खोकनामा ७ दिने नाटक कार्यशाला र ३ वटा सामुदायिक प्रदर्शन गरेको छ ।
श्री रुद्रयाणी माध्यमिक विद्यालयका कक्षा ३ देखि ८ सम्मका करिब २५ विद्यार्थीले अडिसनमा भाग लिएका थिए। उनहीहरुले गीत, कथा र अभिनय मार्फत जनावरहरुप्रतिको सहानुभूति र स्नेह अभिव्यक्त गरेका थिए ।
कार्यशालाबाट छानिएका १० जना विद्यार्थीले ‘जनावरलाई माया कसरी गर्ने?’ शीर्षकको नाटक अभ्यास गरी प्रस्तुत गरेका थिए। विद्यार्थी स्वयंसेवकहरूको साथ दिएको नाटक प्रस्तुतिमा निर्देशन सुनैना पन्थीले गरेकी थिइन्।
एजुकेशन थिएटर इन नेपालले खोकना २१ का २ विद्यालयमा र एक सामुदायिक नाटक खोकना वडा कार्यालय अगाडि गरेको थियो।
प्रदर्शनीका क्रममा सङ्गीत, नाटक प्रदर्शनका साथै चेतनामूलक पम्प्लेट बाँढेर जनावर अधिकार र नेपालको सम्बन्धित कानुनबारे जनचेतना फैलाइएको थियो ।
दर्शकमा शिक्षक, स्थानिय अगुवा, सञ्चारकर्मी र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियो।
२५ जुलाईमा सम्पन्न कार्यक्रममा १२ जना विद्यार्थी कलाकारहरूलाई वडा अध्यक्ष रविन्द्र महर्जन, प्रधानाध्यापक कृष्णभगत महर्जन तथा अन्य शिक्षकद्वारा प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरी सम्मान समेत गरिएको थियो।
अभियानले बालबालिकालाई जनावरको हकमा बोल्न र नाटकको माध्यमबाट जनावरकोप्रति सहानुभूति र स्नेह जगाउन प्रेरित गर्ने विश्वास लिइएको वडा अध्यक्ष रविन्द्र महर्जनले बताए।