


o गणेश जोशी
पाठशाला विदा छ। बालबालिका घरमै छन्। कतिपय कामकाजी अभिभाकलाई बालबालिकाको विदा ‘समस्या’का रुपमा समेत महसुस हुनसक्ने अभिव्यक्तिहरु नबाहिरिने होइनन्। सहरिया र एकाङ्की बन्दै गएको पारिवारिक संरचनाका लागि यो समस्या पनि हो।
किनकि हिँजोकाे हाम्रो संयुक्त पारिवारिक संरचना चाहेर पनि सम्भव नहुने बन्दै गएको छ। अध्ययन, अवसर, रोजगार, सीप र ज्ञान आर्जनका लागि पनि सबै परिवार एकै ठाउँमा नहुने परिवेश बन्दै गएको छ।
बालबालिकाको विद्यालय विदाको समय केवल आराम समय गर्ने अवसर मात्र होइन, आफ्ना छोराछोरीसँग गुणस्तरीय समय बिताउने, उनीहरूको व्यक्तित्व विकासमा योगदान पुर्याउने र जीवनोपयोगी सिकाइ दिने उत्कृष्ट अवसर पनि हो। आउनुहोस्, यो विदालाई निम्न पाँच कुरामा केन्द्रित भएर सार्थक बनाऔँ।
समय र साथ
बालबालिकाले सबैभन्दा बढी खोज्ने कुरा अभिभावकको समय र साथ हो। उनीहरू आफ्ना कुरा सुनिदिने, केही समय सँगै बिताइदिने र आफ्नो साथी बन्ने अभिभावक चाहन्छन्। परिवारसँग बिताएको यस्तै आत्मीय समयले बालबालिकाको आत्मविश्वास, भावनात्मक सुरक्षा र सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पार्छ। बालकालमा बिताइएको यही सुन्दर पल भविश्यमा गएर उनीहरुका लागि मिठो सम्झनाकाे संग्रह बनेर रहीरहन्छ । जसले उनीहरुलाई आफ्ना अभिभावकप्रति सँधै नजिक बनाइरहनेछ।
संस्कार र व्यवहार
बालबालिकाको संस्कार निर्माणको पहिलो विद्यालय परिवार हो । परिवारबाटै बालबालिकामा सँस्कारको विकास अंकुरित हुन्छ । त्यसका प्रमुख शिक्षक अभिभावक हुन्। हामीले बोलेका शब्दभन्दा पनि गरेका व्यवहारबाट उनीहरूले धेरै कुरा सिक्छन्। त्यसैले हामी आफ्ना छोराछोरीमा जुन गुण, व्यवहार र चरित्र देख्न चाहन्छौँ, त्यसको उदाहरण पहिले हामी आफैँ बनेर देखाउन आवश्यक छ।
सीप र जीवनोपयोगी ज्ञान
शिक्षा केवल पुस्तक र कक्षाकोठाभित्र मात्रै सीमित हुँदैन। जीवन सफल बनाउन आवश्यक धेरै सीप व्यवहारिक अनुभवबाट सिकिन्छ। विद्यालय विदाको समय बालबालिकालाई घरायसी काम, करेसाबारी, सरसफाइ, आत्मनिर्भरता, समय व्यवस्थापन, आर्थिक अनुशासन तथा दैनिक जीवनमा आवश्यक अन्य व्यवहारिक सीप सिकाउने उपयुक्त अवसर पनि हो। यस्ता सीपले उनीहरूको भविष्यका लागि बलियो जग निर्माण गर्छ। र त्यो जग जीवनकै बलियो घर बनेर देखिनेछ।
अध्ययन र सिकाइको वातावरण
आज हामी आधुनिकताको नाममा धेरै कुरा अपनाइरहेका छौँ । अधिकांस समय हामी ग्याजेटमै बिताइदिन्छाैँ तर घरमा अध्ययन संस्कृतिको विकास गर्न भने प्राय चुकिरहेका हुन्छौँ। ठूलो पुस्तकालय बनाउन नसके पनि घरमा सानो पुस्तक संग्रह गर्ने कुनो बनाउन सकिन्छ।
किनमेल गर्दा जीवनोपयोगी पुस्तक खरिद गर्ने, जन्मदिन वा विशेष अवसरमा पुस्तक उपहार दिने र परिवारका सदस्यहरू स्वयं पनि नियमित पढ्ने बानी बसाल्ने हो भने बालबालिकामा अध्ययनप्रतिको रुचि स्वाभाविक रूपमा विकास हुन्छ। अभिभावक स्वयं पुस्तक पढिरहेको दृश्य बालबालिकाका लागि सबैभन्दा प्रभावकारी प्रेरणा हो।
सहृदयता र शुभेच्छा
बालबालिकाको कल्पनाशक्ति असीमित हुन्छ। जिज्ञासु स्वभाव लाेभलाग्दाे हुन्छ। उनीहरू नयाँ कुरा सिक्न, प्रयोग गर्न र सिर्जना गर्न उत्सुक हुन्छन्। सिकाइको क्रममा गल्ती हुनु स्वाभाविक हो। त्यसैले उनीहरूको सानो भूलमा निरुत्साहित गर्ने वा अपमान गर्ने होइन, बरु सकारात्मक प्रतिक्रिया दिँदै धैर्यपूर्वक मार्गदर्शन गर्ने वातावरण बनाउन आवश्यक हुन्छ।
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ, ‘कल्पनाशक्ति ज्ञानभन्दा पनि महत्वपूर्ण हुन्छ।’ त्यसैले बालबालिकाको जिज्ञासा, सिर्जनशीलता र सिक्ने उत्साहलाई सम्मान गर्दै उनीहरूलाई प्रोत्साहन गर्नु प्रत्येक अभिभावकको महत्वपूर्ण दायित्व हो।
विद्यालयको विदा केवल समय बिताउने अवसर होइन, यो असल संस्कार, जीवनोपयोगी सीप, अध्ययन संस्कृति र आत्मीय सम्बन्ध निर्माण गर्ने अमूल्य अवसर हो। आज हामीले बालबालिकामा लगानी गरेको समय, माया र मार्गदर्शन नै उनीहरूको उज्ज्वल भविष्यको आधार बन्नेछ।
सम्पूर्ण आदर्श अभिभावकहरूमा हार्दिक अपिलसहित सादर नमन!
(जोशी चैतन्य पाठशालाका कार्यकारी निर्देशक हुन्)
गणेश जोशी

