लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वीर गोर्खा सैनिकको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताएका छन्।
उनले अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अवस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्प माला समेत चढाएका थिए।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए युके) ले उनको सम्मानमा आयोजना गरेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रम अघि उनी त्यहाँ पुगेका थिए ।
त्यस पछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत, नेपालको झन्डा बोकेका नेपाली सम्मिलित र्यालीमा सहभागी भएर कुलमान हल प्रवेश गरेका थिए।
बेलायतका ५९ सङ्घसंस्थाका प्रमुख, बुद्धिजीवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे ।
उनले विश्वमा नेपाल चिनाउने प्रमुख तीन कुरा सगरमाथा, गौतम बुद्ध र गोर्खा सैनिक भएको बताए।
‘नेपालको राष्ट्रियता बच्नुमा र बेलायतसँग पहिलो दौत्य सम्बन्ध कायम हुनुमा गोर्खाहरूको ठूलो भूमिका छ । यही हो हाम्रो सम्पत्ति’, उनले भने ।
घिसिङले आफूले सुरु गरेको उज्यालो नेपाल अभियानबारे पनि प्रष्टयाए।
बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयाँ लिडरसिप र निराशालाई आशामा बदल्न आफूले यो अभियान थालेको उनले बताए ।
ुयस सामाजिक अभियानमा म विश्वभर र स्वदेशमा रहेका नेपालीलाई जोड्न चाहन्छुु, उनले भने, ‘तपाईँहरू सबैले साथ दिए यो अभियान सफल हुन्छ भन्ने विश्वास छ।’
नेपालमा वर्षेनी १५ खर्ब रुपैयाँ रेमिटेन्स भित्रने र त्यो मध्ये करिब ७ खर्ब खाडी मुलुकबाट हुने भए पनि राज्यले आफूहरूलाई अपमान गर्ने गरेको उनीहरूको गुनासो सुन्दा दुःख लागेको घिसिङले बताए।
‘जिडिपीको २७ प्रतिशत योगदान रेमिटेन्सबाट छ। यसले विदेशी मुद्रा आर्जन गरेर हाम्रो अर्थतन्त्र धानिरहेको छ। तिनै खाडीका नेपालीलाई हेला गर्ने, वंशजको नेपाली नागरिकता नदिएर युरोप, अमेरिका लगायत पश्चिमा देशमा बसेका नेपाली र पेसेवरहरूलाई नेपाल फर्कन वा लगानी गर्न रोक्नु ठिक होइन’, उनले भने ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले बेलायतका नेपालीले घिसिङलाई देशको नेतृत्वमा पुगेको हेर्न चाहेको बताउँदै उनले नेतृत्वमा गए वंशजको नेपाली नागरिकता कायम राख्न पहल गर्न आग्रह गरे।
संविधान प्रदत्त अधिकार दिनुपर्छ
यसअघि राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए युकेले पनि कुलमानसँग छुट्टै अन्तरक्रिया गरेको थियो।
उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउँदै घिसिङले उज्यालो नेपाल अभियानमा वैदेशिक लगानी भित्र्याउने कोसिसमा देश-विदेशका साथीहरूसँग जोडिएको जानकारी दिए।
उनले नेपालीहरु विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेसामा काम गरीरहेकाले नेपालले धेरै फाइदा लिनसक्ने अवस्था रहेको जनाए ।
घिसिङले डायस्पोराका नेपालीहरूले नेपालमा बस्ने र लगानी गर्ने कोसिस गर्दा सास्ती खेप्नु परेकाले पुनः विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिए ।
‘अबको विश्व ऊर्जामा निर्भर भएकाले नेपालमा जल विद्युत्को सम्भाव्यता अझै छ’, उनले भने।
अध्यक्ष पुडासैनीले कुलमानको योगदानको प्रशंसा गर्दै एनआरएनए युकेले नेपाल राष्ट्रका लागि काम गर्नेहरूसँग सहकार्यको हात अघि बढाउने जनाए ।
यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा रक्षा थापाले फुल र खादा ओढाएर घिसिङलाई स्वागत गरेका थिए ।
कुलमान घिसिङ