Logo
१० भदौ २०८२, मंगलबार

यसै वर्ष बाघ गणना, खर्च झण्डै २ करोड तर सरकारले छुट्यायो २० लाख

अक्षरपाटी
२०८२ भदौ १० , मंगलबार १२:०८ मा प्रकाशित

चितवन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसै वर्ष बाघ गणना गर्ने भएको छ। गैंडा गणनासँगै बाघको पनि गणना गर्ने तयारी विभागले अगाडि बढाएको हो।

चालु आर्थिक वर्षको बजेटमा सरकारले बाघ गणनाका लागि २० लाख रुपैयाँ मात्र विनियोजन गरे पनि वास्तविक गणनामा झण्डै २ करोड रुपैयाँ लाग्ने विभागका अधिकारीहरूले बताएका छन्। अपुग बजेटका कारण विभागले विदेशी दातृ निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरेर काम अघि बढाउने तयारी गरेको छ।

विभागका महानिर्देशक रामचन्द्र कँडेलका अनुसार २०८२ सालभित्र गैंडा र बाघ दुवैको गणना हुने छ। बाघ गणना आगामी मंसिर–पुसतिर चितवन, बर्दिया, पर्सा, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथै विभिन्न राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा गरिनेछ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार गणनाका क्रममा बाघको संख्यासँगै आहार प्रजातिको अवस्थाबारे पनि अध्ययन हुनेछ।

यसअघि सन् २०२२ मा भएको गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो। जसअनुसार चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए।

बाघ गणनाका लागि बाघ बढी आवतजावत गर्ने स्थानमा स्वचालित क्यामेरा जडान गरिन्छ। हरेक बाघको शरीरमा रहेका धर्का (पाटा) फरक हुने भएकाले फोटोमार्फत संख्या छुट्याइन्छ। सन् २०२२ को गणनामा मात्रै १ हजार क्यामेरा र २ सय प्राविधिक परिचालन गरिएको थियो।

नेपालमा वैज्ञानिक रूपमा बाघ गणना सुरु भएको १६ वर्ष भएको छ। सन् २००९ को गणनामा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए।

लक्ष्यभन्दा बढी बाघ

सन् २०१० मा रुसमा भएको सम्मेलनले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो। नेपालले १२१ बाट २५० पुर्‍याउने लक्ष्य राखेकोमा २०२२ मा ३३५ बाघ पुगेका थिए।

हाल बाघ पाइने देश १३ मात्र छन्। नेपालमा बाघको संख्या लक्ष्यभन्दा बढी पुगेपछि आहार प्रजाति घटेको र बाघले मानव बस्तीमा छिर्ने घटना बढेको भन्दै बाघ नियन्त्रणबारे बहस समेत सुरु भएको छ।

बाघ गणना

ट्रेन्डिङ ( साप्ताहिक )

बा !