काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता र भ्रष्टाचार निर्मुलीकरणमा सरकार प्रतिवद्ध रहेको बताइन्।
कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबैको साझा अपेक्षा रहेको स्मरण गर्दै उनले यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन, ‘सूचना प्रविधिमा भएको विकास, अन्तराष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्रि शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन्। यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ।’
उनले शासकीय आकांक्षा बोकेर, कुनै पदको लोभ लिएर प्रधानमन्त्री नभएको भन्दै देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको बताइन्।
उनले भनिन्, ‘शासकीय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री भएको होइन। देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन मार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरि म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हो।’
समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुने हुदाँ जनताको अपेक्षा अनुसार राज्य क्रियाशिल हुँदै सुधारको बाटोमा हिन्नुपर्ने पनि उनको भनाइ छ।
उनले संविधानको मर्म र भावना अनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणाम पनि वर्तमान अवस्था भएको भन्दै जनताको भावना संविधानका अक्षरभन्दा बढि बहुआयामिक हुने बताइन्।
सुशीला कार्की