Logo
२३ भदौ २०८३, मंगलबार

‘संसद्को दुई तिहाइले मात्र स्थिरता दिँदैन’ : पूर्वप्रधानमन्त्री कार्की

अक्षरपाटी
२०८३ भदौ २३ , मंगलबार ११:०९ मा प्रकाशित

‍काठमाडाैं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषयमा स्पष्ट सन्देश दिएको बताएकी छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने धारणा व्यक्त गरेकी हुन्।

उनले राजनीतिक स्थायित्व संसदीय गणितबाट नभई शासकको चरित्र र कार्यशैलीबाट निर्धारण हुने बताएकी छन्। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने उनको सुझाव छ।

कार्कीले एक वर्षअघि भदौ २३ गते सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएका नवयुवामाथि भएको दमनका क्रममा निर्दोष युवाहरूको ज्यान गएको स्मरण गरेकी छन्। उनले आन्दोलनमा सहिद भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमेको उल्लेख गर्दै उनले उक्त घटनाले राष्ट्रको जीवनमा गहिरो घाउ छाडेको बताएकी छन्।

‘अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन’ भन्दै कार्कीले सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन राज्य तथा राजनीतिक नेतृत्वले इमानदार, जिम्मेवार र चनाखो भएर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।

यसैबीच, जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै देश भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले विपद्को यस घडीमा धैर्य, जिम्मेवारी र राष्ट्रिय एकता आवश्यक रहेको बताएकी छन्।

उनले एकअर्काको सहारा बन्दै दुःखमा मल्हम लगाउने र ऐक्यबद्ध भएर विपद्को सामना गर्न सबैलाई आह्वान गरेकी छन्।

सुशीला कार्की