काठमाडौं। जेनजी आन्दोलनको मौकामा अन्य कैदीसँगै भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी पुनः कारागारमै फर्केका छन्।
भदौ २४ गते सुन्धारास्थित कारागारबाट भागेका उनी दुई सातापछि मंगलबार फर्किएर आएको कारागार स्रोतले जनाएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।
जेनजी आन्दोलनका क्रममा विभिन्न स्वार्थ समूहको उक्साहटमा देशभरका जेलबाट १४ हजार कैदीबन्दी भागेका थिए। सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी भागेका थिए।
भागेका कैयौँ कैदी पुनः अपराधमै फर्किएका घटना सार्वजनिक भइरहेका छन्। फरार कैदीले श्रीमतीको हत्या, चोरी, डकैती र बलात्कार गरेका समाचार बाहिरिएका छन्।
टाेपबहादुर रायमाझी