

O शंकर खैराली
सामाजिक सञ्जालमा चर्चित नाम हो गड्सेरी माइला। अझ पश्चिम नेपालमा सामाजिक सञ्जालमा जाेडिएकाहरु नचिन्ने कमै होलान्।
जसरी उनी गोरखापत्र, नागरिक, अभियान दैनिकलगायत स्थानीय दर्जनौ मिडियामा विचारोत्तेजक लेख लेख्ने लेखकका रुपमा चिनिन्छन्, त्योभन्दा तार्किक र प्रासांगिक छोटा विचारहरु सामाजिक सञ्जालमा सम्प्रेशण गर्छन। जसले कैयौँको मथिंगललाई सोचमग्न बनाइदिन्छ।
उनी ठट्टा-मजाकमा आफै पनि आफूलाई ‘फेसबुक पार्टी’को अध्यक्ष भन्छन्। रमाइलो शैलीमा स्ट्याटस लेखेपनि त्यसको अन्तर्य र अर्थ निकै गहिरो हुने गर्छ।
३९ वर्ष निजामति कर्मचारीका रुपमा सेवा गरेर उपसचिवबाट सेवानिवृत्त गडसेरी माइलाको वास्तविक नाम तीर्थराज ओझा हो। सौरभ शर्मा, टी ओझाका नामले समेत चिनिने माइलाले बिकम र बिएलसम्मको अध्ययन गरेका छन्।
उनी लहडले मात्रै अब्बल लेखक वा तार्किक सामाजिक व्यक्तित्व बनेका भने होइनन्। डोटीको विकट गडसेरा गाउँमा जन्मेहुर्केका उनको समयमा त्यो दुर्गम गाउँमा पुस्तकको त्यति सहज पहुँच थिएन। आफूलाई चिया पारखी भनेर चिनाए पनि उनी सानैदेखि पढन्ते स्वभावका थिए, अर्थात किताब पारखी हुन्।

गड्सेरी माइलालाई जीवनमा औधि मनपर्ने लेखक हुन- लक्ष्मीप्रसाद देवकोटा र उनका कृति मुना मदन, लक्ष्मी कथा संग्रह, लक्ष्मी निबन्ध संग्रह। त्यस्तै अर्का साहित्यकार मदनमणी दिक्षित र उनको कृति मेरी निलिमा, त्यस्तै राष्ट्रकवि माधव प्रसाद घिमिरे र उनको चर्चित कृति गौरी, नयाँ पुस्तामा भने निलम कार्की निहारिका र उनको योगमाया ।
पश्चिम नेपालमा निकै चर्चित नाम गड्सेरी माइला अर्थात तीर्थ ओझा कहिलेदेखि बने त किताबका अम्मली ?
उनको छोटो जवाफ छ-विक्रम संवत २०३५-३६ देखि
त्यसबेलादेखि लागेको पढ्ने अम्मल आजपर्यन्त उस्तै छ । उनी किताबले नयाँ समय, नयाँ नयाँ परिवेश, नयाँ पात्र, नयाँ सोच, नयाँ उर्जा सञ्चार गर्ने अनुभव सुनाउँछन्।
सेवानिवृत्त जिन्दगी विताइरहेका माइलाको हरेक बिहानको सुरुवात किताबबाटै हुनेगरेको बताउँछन्। सेवामा रहँदा भने उनी बिहान र बेलुकाको समय निकालेर अध्ययन गर्थे ।
विधाका हिसाबले उनी साहित्यका किताब र त्यसमा पनि कथा र उपन्यास बढी रुचाउँछन्। किताब पढ्दाको गड्सेरी माइलाको अनुभूति भने रोचक लाग्छ ।

भन्छन्- पुस्तकको मुल पात्र मै हो र चित्रण गरिएको परिवेश म आफैँले देखे, जानेको, सुनेको भोगेको जस्तो लाग्छ, दुःख भनेको त सबैलाई आइपर्दो रैछ भन्ने लाग्छ, आ-आफ्नो खालको संघर्ष सबैले गर्नुपर्दो रहेछ भन्ने कुरा किताबसँग बग्दै जाँदा लाग्छ।
उनी चाहन्छन्- पढ्ने किताब चरम संघर्षको कथामा बुनिएको होस्, प्रेरणादायी होस् तर सफलतामा टुंग्याइएको होस्। किताब लेखन भइरहेकै कारण मानव सभ्यता यहाँसम्म आइपुगेको भन्न रुचाउने उनी किताबले आफूलाई उच्च मनोबल दिएको बखान गर्छन।
भन्छन्- पढ्ने बानीले मलाई कुनै संकट आइपरेछ भने पनि, निराश भइहालेछु भने पनि म आफूलाई सम्हाल्नसक्छुजस्तो लाग्छ। अहिले उनी लेखनमा सक्रिय देखिन्छन्। साहित्यिक गाेष्ठी र भेलमा भेटिन्छन्।
आफू ५० औँ वशन्तमा पुगेपछि मात्र डिजिटल मिडियासँग भेट भएको भन्न रुचाउने गडसेरी माइलालाई किताब होस् या अखबार कागजी नै मन पर्छ।
त्यसो किन ?
भन्छन्- म हुर्केको समय, म पढेको जमाना र म बाँचेको परिबेशले नै त्यस्तो बानी लगायो।
अहिलेको पुस्ता किताब पढ्न त्यती रमाइलो मान्दैन भन्ने धेरैको ठम्याइ छ। डिजिटल मिडियाले पनि किताबप्रतिको लगाव कमी भएको हो किजस्तो देखिन्छ । अध्ययनशील माइलासँग अक्षरपाटीले जिज्ञासा राख्यो- पढ्ने बानीको विकास गर्न के उपाय होला ?
उनले भने- त्यस्तो खास न विधि छ, न सूत्र । रुचीको कुरा हो। रुचीले नै अध्ययन र पठनमा गहिरो प्रेम भएका गडसेरी माइलाले आजभन्दा करिब ६ दशक अघि पढ्नका लागि निकै अभाव खेप्नुपर्यो।
त्यसबेलाको समयमा सुगम मानिने कैलाली, कञ्चनपुरमा समेत चाहेको पुस्तक पाइँदैन थियो। उनी त्यसबेला बाँचेको परिवेश थियो- अछाम,बझाङ,डोटी,बाजुरा,दार्चुला।

उनले भने-अब आफै अनुमान गर्नुस, कति चुनौतीको सामना गरेँ हुँला ?
‘पढेर के हुन्छ ?’ भन्ने पनि धेरैलाई लागिदिनसक्छ। तर माइला भने अब्बल लेखक वा वक्ता बन्न पनि अब्बल पाठक बन्नैपर्ने सुझाउँछन्। लेख्ने लेखनमा त्यसले निकै ठूलो भूमिका निर्वाह गरेको अनुभव उनले सुनाए।
उनी पढ्न इच्छुक र रुचि भएकाहरुलाई भन्छन्, ‘सबैमान्छेसँग सबै विषय पढ्ने र बुझ्ने रुचि हुँदैन, त्यो कौशल पनि हुँदैन, त्यो आवश्यक पनि छैन। त्यसैले आफूलाई रुचि भएको र क्षमता भएको विषय मात्रै पढे काफी हुन्छ।’
गड्सेरी माइला




