Logo
१७ पुस २०८२, बिहीबार

सशस्त्रको गोली लागेर चालकको मृत्यु,स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अक्षरपाटी
२०८२ पुस १७ , बिहीबार ११:०१ मा प्रकाशित

विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन् ।

बिहीबार राति करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्तीजन्य सामग्री ल्याउँदै गरेका साहलाई घर नजिकै सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ । उनलाई दुई राउण्ड गोली लागेको थियो ।

साहको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्डमा शव राखेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण ठूला सवारी साधन चल्न सकेका छैनन् भने मोटरसाइकल मात्र आवत–जावत भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार स्थानीयको प्रदर्शनका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । घटनापछि बिहीबार बिहान स्थानीयसँग वार्ता गरिएको भए पनि सहमति हुन नसकेको उनले जानकारी दिए ।

स्थानीयले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

#सशस्त्र प्रहरी #चालकको मृत्यु

ट्रेन्डिङ ( साप्ताहिक )