Logo
१ जेठ २०८३, शुक्रबार

भेनेजुएलाका राष्ट्रपति मदुरोको पक्राउबारे कुनकुन देशले के के भने ?

अक्षरपाटी
२०८२ पुस २० , आईतबार १२:०१ मा प्रकाशित

काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेपछि अन्तर्राष्ट्रिय स्तरमा तीव्र प्रतिक्रिया देखिएको छ। प्रतिस्पर्धी तथा केही तटस्थ देशहरूले अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै निन्दा गरेका छन् भने उसका सहयोगी राष्ट्रहरूले यसलाई स्वागत गरेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार मदुरोमाथि लागुऔषध तस्करी र आतंकवादसम्बन्धी अभियोग लगाइएको छ। उनलाई शनिबार अबेर हतकडी लगाएर न्युयोर्क सिटी ल्याइएको थियो। आइतबार म्यानहटनस्थित संघीय अदालतमा उपस्थित गराउने तयारी छ। हाल उनलाई ब्रुकलिनस्थित मेट्रोपोलिटियन डिटेन्सन सेन्टरमा राखिने जनाइएको छ।

मदुरो पक्राउको विरोधमा अमेरिकामै पनि प्रदर्शन भएका छन्। शनिबार बोस्टन र मिनियापोलिससहितका सहरमा ‘तेलका लागि युद्ध बन्द गर’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो।

घटनापछि रूसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अमेरिकी सैन्य हमलाको कडा निन्दा गरेको छ।
‘यो गहिरो रूपमा चिन्ताजनक र निन्दनीय छ। यस्ता कार्यलाई औचित्य दिन प्रयोग गरिएका बहानाहरू निराधार छन्,’ विज्ञप्तिमा भनिएको छ। रूसले संवादमार्फत समाधान खोज्न र मदुरो तथा उनकी पत्नीलाई तत्काल रिहा गर्न माग गरेको छ।

चीनले अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र एक सार्वभौम राष्ट्रविरुद्ध बल प्रयोग भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। यस्तो कदमले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा शान्ति तथा सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने चेतावनी चीनले दिएको छ।

इरानले पनि अमेरिकी सैन्य आक्रमणलाई राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको खुला उल्लङ्घन भन्दै निन्दा गरेको छ। क्युबाले अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकाको कदमविरुद्ध एकजुट हुन आह्वान गरेको छ।

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले अमेरिकी अपरेसनको कानुनी मूल्यांकन जटिल रहेको उल्लेख गर्दै यसबारे गहिरो अध्ययनपछि मात्र धारणा सार्वजनिक गरिने बताए। उनले अन्तर्राष्ट्रिय कानुनका सिद्धान्त लागू हुनुपर्ने र भेनेजुएलामा वैध तथा लोकतान्त्रिक संक्रमण सुनिश्चित हुनुपर्नेमा जोड दिए।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मादुरो शासनलाई स्पेनले मान्यता नदिएको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बमबारी र राष्ट्रपति पक्राउ अस्वीकार्य सीमा नाघेको भन्दै यसलाई भेनेजुएलाको सार्वभौमसत्तामाथिको गम्भीर आघात भनेका छन्।

मेक्सिकोले संयुक्त राष्ट्रसंघ चार्टरको धारा २ उल्लङ्घन भएको भन्दै अमेरिकी सैन्य कारबाहीको कडा निन्दा गरेको छ।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै यस कदमलाई स्वतन्त्रता र न्यायका पक्षमा ‘साहसी र ऐतिहासिक नेतृत्व’ भनेका छन्।

अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेईले यसलाई चुनाव धाँधली गर्ने तानाशाही शासनको पतन भन्दै ‘स्वतन्त्र विश्वका लागि उत्कृष्ट खबर’ प्रतिक्रिया दिएका छन्।

दक्षिण अफ्रिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आग्रह गरेको छ। क्यानडाले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गरेको छ।

बेलायत, युरोपेली आयोग, चिली, उरुग्वे, बोलिभिया, कोलम्बिया, पेरु, नर्वे, डेनमार्क, स्लोभाकिया, चेक गणराज्यलगायत देशहरूले सैन्य हस्तक्षेपको विरोध गर्दै कूटनीतिक संवाद र शान्तिपूर्ण समाधानको पक्ष लिएका छन्।

युक्रेनले भने मादुरो शासन मानवअधिकार उल्लङ्घनमा दोषी रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यअनुसार समाधान हुनुपर्ने प्रतिक्रिया दिएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )