

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट उत्तर–पूर्वतर्फ जाँदै गरेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा ठूलो दुर्घटना भएको छ। यस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।
समाचार संस्था अलजजिराका अनुसार दुर्घटना बुधबार बिहान बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ गइरहेको रेल उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमाथि खसेको थियो।
क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको र त्यसलगत्तै केही बेर आगलागीसमेत भएको अलजजिराका स्थानीय रिपोर्टरले बताएका छन्। प्रारम्भिक विवरणमा मृतकको संख्या ४ जना भनिए पनि पछि यो बढ्दै १२ पुगेको र हालसम्म २२ जनाको मृत्यु पुष्टि भएको थाई प्रहरीले जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ५५ जनालाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको र आगलागी भने नियन्त्रणमा लिइसकिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।
यस दुर्घटनाले थाइल्याण्डमा रेल सुरक्षा र निर्माणस्थलको व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ।




