



मुम्बई । नेपाल आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको लगातार तेस्रो खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। स्कटल्यान्डसँग खेल्न बाँकी रहँदै नेपाल सुपर–८ मा पुग्न नसक्ने निश्चित भएको हो।
यसअघि इंग्ल्यान्डसँग चार रन तथा अर्को खेलमा १० विकेटको हार बेहोरेको नेपाललाई आइतबार वेस्ट इन्डिज ले ९ विकेटले पराजित गर्यो।
लगातार तीन जित हात पारेको वेस्ट इन्डिज भने सुपर–८ मा प्रवेश गरेको छ। यसअघि उसले स्कटल्यान्ड र इंग्ल्यान्डलाई पराजित गरेको थियो।
भारतको मुम्बईस्थित वानखेडे रंगशाला मा भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो।
वेस्ट इन्डिजका कप्तान शाइ होप ले अर्धशतक प्रहार गर्दै नटआउट ६१ रन बनाए। उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै शिमरन हेटमेयर ले नटआउट ४६ रन जोडे। ओपनर ब्रान्डन किङ २२ रनमा आउट भए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो। कमजोर सुरुवातका बीच दीपेन्द्रसिंह ऐरी ले अर्धशतक प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए।
दीपेन्द्रले ४७ बलमा ५८ रन बनाउँदा ३ चौका र ३ छक्का प्रहार गरे। यो टी–२० विश्वकपमा नेपालको १२ वर्षपछिको अर्धशतक हो। यसअघि सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
नेपालले पहिलो ओभरमै कुशल भुर्तेल लाई गुमायो। उनले ३ बलमा १ रन मात्र बनाए। तेस्रो ओभरमा कप्तान रोहितकुमार पौडेल ५ रनमा आउट भए। आसिफ शेख, आरिफ शेख, लोकेश बम र गुल्सन झाले पनि उल्लेख्य योगदान दिन सकेनन्।
दीपेन्द्र र सोमपाल कामी बीच सातौं विकेटका लागि ५४ रनको साझेदारी भयो। सोमपालले १५ बलमा ४ चौका प्रहार गर्दै नटआउट २६ रन बनाए।
वेस्ट इन्डिजका जेसन होल्डर ले चार विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिए। स्कटल्यान्डसँग अन्तिम खेल
नेपालले समूह चरणको अन्तिम खेल मंगलबार राति सवा ७ बजे स्कटल्यान्डसँग मुम्बईमै खेल्नेछ।
आईसीसी टी–२० विश्वकप



