Logo
१६ जेठ २०८३, शनिबार

सुदूरपश्चिमका लागि बजेटमा १६ प्रमुख घोषणा, के–के परे योजनामा ?

अक्षरपाटी
२०८३ जेठ १६ , शनिबार १०:०५ मा प्रकाशित

कैलाली। सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, खेलकुद, पर्यटन, पूर्वाधार, ऊर्जा, सञ्चार तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ । बजेटमा लामो समयदेखि चर्चामा रहेका केही परियोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ भने नयाँ कार्यक्रमसमेत समावेश गरिएका छन् ।

स्वास्थ्य क्षेत्रतर्फ कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चिकित्सा शिक्षाका चारवटा कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ । यस घोषणाले लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको विश्वविद्यालयमार्फत सुदूरपश्चिममै चिकित्सा शिक्षा अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

खेलकुद पूर्वाधार विकासअन्तर्गत धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई हजार दर्शक क्षमताको इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माण गरिने भएको छ । साथै वर्षौंदेखि चर्चामा रहेको फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी आवश्यक लगानीको यकिन गरेर निर्माण प्रक्रिया अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ । यसलाई प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सडक तथा यातायात पूर्वाधारतर्फ सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङकर सडक खण्डको ट्र्याक खोल्ने कार्यलाई प्राथमिकता दिएको छ । चीनसँगको सीमावर्ती क्षेत्रसम्म सडक पहुँच विस्तार गर्ने उद्देश्यले उक्त सडकलाई रणनीतिक महत्वको आयोजनाका रूपमा अघि बढाइने भएको हो ।

त्यस्तै सेती करिडोरको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइने तथा खुटिया–दीपायल फास्ट ट्र्याकको स्तरोन्नतिलाई तीव्रता दिइने घोषणा गरिएको छ । यी आयोजनाले पहाडी तथा हिमाली जिल्लाको यातायात पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ । रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा तथा मालिकार्जुन क्षेत्रलाई समेटेर विशिष्ट पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । साथै खप्तड–बडिमालिका–शुक्लाफाँटा प्रादेशिक पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

सरकारले खप्तड–बडिमालिका–बुढीनन्दा क्षेत्रलाई रारा क्षेत्रसँग जोडेर पर्यटन गतिविधि विस्तार गर्ने योजना पनि अघि सारेको छ । यसबाट सुदूरपश्चिम र कर्णाली प्रदेशबीच धार्मिक तथा प्राकृतिक पर्यटनको साझा सर्किट विकास हुने अपेक्षा गरिएको छ ।

ऊर्जा क्षेत्रतर्फ २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अगाडि बढाइने घोषणा गरिएको छ । उक्त आयोजना सुदूरपश्चिमको ठूलो जलविद्युत् परियोजनामध्ये एक मानिन्छ ।

कृषि तथा सिँचाइतर्फ महाकाली सिँचाइ आयोजनाको कमान्ड क्षेत्रभित्र आवश्यक पूर्वाधार विकास गरिने भएको छ । त्यस्तै रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीको लम्की क्षेत्रमा सिँचाइ पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ ।

बाढी तथा नदी कटान नियन्त्रणका लागि महाकाली नदी व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । यसले सीमावर्ती क्षेत्रका बस्ती तथा कृषियोग्य जमिन संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सामाजिक तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत सघन दलित बस्तीलाई लक्षित गरी नमुना होमस्टे सञ्चालन गरिने भएको छ । यस कार्यक्रममार्फत दलित समुदायको आयआर्जन वृद्धि र सामुदायिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको सरकारले जनाएको छ ।

सञ्चार क्षेत्रतर्फ सुदूरपश्चिमका दुर्गम तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गरिने घोषणा गरिएको छ । सेवा पहुँच कमजोर रहेका क्षेत्रलाई लक्षित गरी दूरसञ्चार पूर्वाधार विस्तार गरिने बजेटमा उल्लेख छ ।

शहरी पूर्वाधारतर्फ कञ्चनपुरको बेलौरी तथा टाउन क्षेत्रमा बजार ढल प्रशोधन केन्द्र निर्माण गरिने भएको छ । यसले बढ्दो शहरीकरणसँगै देखिएको फोहोर पानी व्यवस्थापनको समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै नेपाल–भारत सीमा नाकामा व्यापार तथा आवागमनलाई सहज बनाउन कञ्चनपुरको दोधराचाँदनीमा आगामी दुई वर्षभित्र एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गरिने घोषणा गरिएको छ । उक्त परियोजना सञ्चालनमा आएपछि सीमा व्यापार, भन्सार व्यवस्थापन तथा आवागमन थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

बजेट भाषण सुदूरपश्चिम प्रदेश