Logo
६ असार २०८३, शनिबार

ललित विष्टको कथासंग्रह ‘उत्कर्ष’माथि चिन्तन, नयनराज पाण्डेले भने- अब तेरा क्या होगा कालिया !

अक्षरपाटी
२०८३ असार ६ , शनिबार ०५:०६ मा प्रकाशित

काठमाडौं। साहित्यकार ललित विष्टको दोस्रो कथाकृति ‘उत्कर्ष’ माथि केन्द्रित ‘उत्कर्ष चिन्तन’ कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौंस्थित एक थिएटरमा सम्पन्न कार्यक्रममा वरिष्ठ कथाकार नयनराज पाण्डेले कृतिमाथि सटिक र तथ्यपरक टिप्पणी गरे। उनले ‘उत्कर्ष’ पाठकको रुचिअनुसार लेखिएको कृति नभई लेखकको आफ्नै विशिष्ट कथाशैलीको प्रतिनिधित्व गर्ने संग्रह भएको बताए।

उनले विष्टको लेखकीय शिल्प मौलिक र पृथक रहेको उल्लेख गर्दै संग्रहका प्रत्येक कथाभित्र अर्को कथा बुनिएको बताए। विष्टले कथा लेखनमा नयाँ कौशल र प्रयोगधर्मी शैली अपनाएको पाण्डेको भनाइ थियो।

पाण्डेका अनुसार ‘उत्कर्ष’ नेपाली कथासाहित्यमै फरक स्वाद र चेतनाको संसार निर्माण गर्ने थोरैम्यको सशक्त कृति हो। उनले कृतिलाई निकै अब्बल दाबी गर्दै लेखकले यथार्थ र कल्पनाबीचको धमिलो सीमालाई भत्काएर पाठकलाई नवीन अनुभूति प्रदान गरेको बताए।

उनले यो कृति अध्ययन गर्न मुटु दह्रो बनाएर बस्नुपर्ने समेत बताए। कृति पढिसकेपछि केही दिनसम्म पाठकको मथिंगल हल्लाउने खालको रहेकाे उनले अनुभूति सुनाए।

फोनिक्स बुक्सद्वारा प्रकाशित यस कथासंग्रहमा १० वटा कथा समावेश छन्। सामाजिक सौन्दर्यको शिल्पमा बुनिएका कथाहरूमा मानवीय अवचेतनका गहिराइसँगै जीवनका विसंगत पक्षहरूलाई बिम्बात्मक र काव्यात्मक भाषामा प्रस्तुत गरिएको छ।

परम्परागत लेखनशैलीभन्दा पृथक् ढंगले मनाेवैज्ञानिक सुक्ष्मतासहित सिर्जना गर्न रुचाउने ललित विष्टले ‘उत्कर्ष’ मार्फत समकालीन नेपाली कथासाहित्यमा नयाँ प्रयोग र अभिव्यक्तिको आयाम थपेको समीक्षकहरूले बताएका छन्।

उत्कर्ष नयनराज पाण्डे फोनिक्स बुक्स ललित विष्ट