Logo
८ असार २०८३, सोमबार

धनगढीको बजेट दुई अर्ब ६४ करोडमाथि

अक्षरपाटी
२०८३ असार ८ , सोमबार ०९:०६ मा प्रकाशित

धनगढी। धनगढी उपमहानगरपालिकाले दुई अर्ब ६४ करोडभन्दा बढीको बजेट ल्याएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि पालिकाको १५ औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

आइतबार रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको जनाइन्।

बजेट व्यहोर्ने स्रोतमा आन्तरिक आयबाट ५५ करोड १० लाख, राजश्व बाँडफाँडबाट ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणमार्फत एक अर्ब ६ करोड ७९ लाख ७ हजार, प्रदेश सरकारबाट १४ करोड २२ लाख ७ हजार तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

उपमहानगरपालिकाले आगामी वर्ष वडा स्वास्थ्य क्लिनिक सुदृढीकरण, ‘पढ्दै सिक्दै’ कार्यक्रममा विद्यार्थीलाई सीपमूलक शिक्षा, सिप तथा रोजगार मेला, सडक बत्ती व्यवस्थासँगै रात्रीकालीन पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।

समुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम, आमा बचाउ कार्यक्रम, ग्रासरुट लेभल फुटवल र क्रिकेट विकास कार्यक्रम, सामुदयिक विद्यालयका शुक्रबारीय सिप विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ।

धनगढी उपमहानगर बजेट