Logo
२६ असार २०८३, शुक्रबार

राहदानी विभाग अगाडि युवाद्वारा आत्मदाह प्रयास, ६५ प्रतिशत शरीर जलेको अवस्थामा वीरमा उपचार

अक्षरपाटी
२०८३ असार २५ , बिहीबार ०३:०७ मा प्रकाशित

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक युवाले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपाली हुन्। उनले राहदानी विभागको तीन नम्बर गेट अगाडि शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए।

घटनालगत्तै प्रहरीले र स्थानीयले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएका हुन्। प्रहरीका अनुसार उनको करिब ६५ प्रतिशत शरीर जलेको छ। उनी सामान्य रूपमा बोल्न सक्ने भए पनि स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाअघि गणेश नेपालीले राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। उक्त मोटरसाइकलमा नगर प्रहरीको टोलीले ह्विल लक लगाएको खुलेको छ।

नेपालीले मोटरसाइकलमा ह्विल लक लगाइएकै कारण आत्मदाहको प्रयास गरेका हुन वा अन्य कारण थियो भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनास्थलमा रहेका व्यक्तिहरूसँग सोधपुछ गर्नुका साथै सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको छ।

आत्मदाह प्रयास् राहदानी विभाग