


काठमाडौं । सरकारी भाडा बक्यौता उठ्ने क्रम तीव्र भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बिहीबार मात्रै ५६ लाख ६० हजार ९२३ बक्यौता असुली भएको छ भने हालसम्म कुल ४६ करोड ७३ लाख सरकारी खातामा जम्मा भइसकेको छ।
भाडा चुक्ता गरेपछि थप ५ उद्योगको विद्युत लाइन पुनः सुचारु गरिएको छ। तर, अझै २१ उद्योगले बक्यौता नतिरेका कारण उनीहरूको विद्युत सेवा काटिएकै अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्री गौरी यादवले ७ दिनभित्र बक्यौता नतिर्ने उद्योगको बत्ती र पानी काट्न निर्देशन दिएपछि उद्योगहरूले धमाधम बक्यौता तिर्न थालेका हुन्।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बक्यौता रहेका कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रा.लि. र कन्टिनेन्टल सर्भिसेज प्रा.लि. ले अझै रकम नतिरेकाले उनीहरूमाथि थप कानुनी कारबाहीको तयारी भइरहेको छ।
कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिले ३ करोड ७५ लाख ३६ हजार ४५० रुपैयाँ ७८ पैसा र कन्टिनेन्टल सर्भिसेज प्रालिले १ करोड १ लाख ५३ हजार ४११ सय १७ पैसा तिर्न बाँकी छ।
मन्त्री गौरी यादव

