Logo
५ साउन २०८३, मंगलबार

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका १४ महिला सकुशल परिवारको सम्पर्कमा

अक्षरपाटी
२०८३ साउन ४ , सोमबार ०२:०७ मा प्रकाशित

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका र सम्पर्कविहीन भएका १४ जना महिला सकुशल आफ्नै प्रयासमा परिवारको सम्पर्कमा आएका छन्।

भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार महिलाहरू सोमबार मध्याह्न करिब १२:१५ बजे परिवारको सम्पर्कमा आएका हुन्। उनीहरूले च्याउ खोज्ने क्रममा जंगलभित्र धेरै टाढा पुगेपछि बाटो बिर्सिएका कारण सम्पर्कविहीन भएको बताएका छन्।

महिलाहरू सकुशल फर्किएपछि उनीहरूको स्वास्थ्य अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली भीमदत्त नगरपालिका–१९ को बागफाँटा पुगेको छ।

उनीहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका थिए। लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले जानकारी गराएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि सम्पर्कविहीन महिलाहरू सकुशल परिवारको सम्पर्कमा आएको पुष्टि गरेका छन्।

यसअघि आइतबार साँझदेखि हराइरहेका बेल्डाँडी गाउँपालिका–२ का तीन जना महिलालाई भने नेपाली सेनाको सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले उद्धार गरेको थियो। उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न प्रवेश गरेका विभिन्न समूहका महिलाहरू सम्पर्कविहीन भएपछि सुरक्षाकर्मी र निकुञ्ज प्रशासनले व्यापक खोजी अभियान सञ्चालन गरेका थिए। अन्ततः सबै महिला सकुशल फेला परेपछि खोजी अभियान सम्पन्न भएको छ।

महिला सम्पर्कविहीन

ट्रेन्डिङ ( साप्ताहिक )