


ललितपुर, साउन ६ — नेपाली कांग्रेसले जननायक विपी कोइरालाको स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार ललितपुरमा ‘ग्रिन रन’, क्यानभास पेन्टिङ र बिरुवा वितरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले क्यानभासमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश झल्किने चित्र कोर्दै जलवायु संकटसँग जुध्न सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिनुभयो।
सोही अवसरमा सहभागीहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको थियो। आयोजकले बिरुवा वितरणलाई हरित अभियानलाई समुदायस्तरसम्म विस्तार गर्ने अभियानको एक हिस्साका रूपमा लिएको जनाएको छ।

यसअघि ‘ग्रिन रन’ नाम दिइएको सचेतनामूलक दौड युनएन पार्कदेखि जावलाखेलसम्म आयोजना गरिएको थियो। दौडमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, युवा, वातावरण अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनविरुद्ध सामूहिक पहलको आवश्यकता झल्काउने सन्देशसहित दौड पूरा गरेका थिए।
आयोजकका अनुसार विपी कोइरालाको सामाजिक न्याय, मानव केन्द्रित विकास र जिम्मेवार नागरिकताको विचारलाई वातावरण संरक्षणसँग जोड्दै कार्यक्रम सञ्चालन गरिएको हो। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका असर नेपालमा समेत तीव्र रूपमा देखिन थालेकाले जनस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा वक्ताहरूले जलवायु संकटको सामना गर्न सरकार, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै वृक्षारोपण, हरित पूर्वाधार, स्वच्छ ऊर्जा र वातावरणमैत्री जीवनशैलीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
गगन थापा नेपाली कांग्रेस

