Logo
७ साउन २०८३, बिहीबार

नवलपरासीमा करेन्ट लागेर घाइते भएका बालकलाई पाैने १६ लाख क्षतिपूर्ति

अक्षरपाटी
२०८३ साउन ७ , बिहीबार ११:०७ मा प्रकाशित

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) मा करेन्ट लागेर घइते भएका बालकलाई उपचार खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।

त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भएर दुवै हात गुमाएका तीं बालकलाई प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको रकम स्वीकृत गरेको हो।

प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा सो दुर्घटना भएको थियो।

स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचारको खर्च भुक्तानी गर्दै आएको छ।

प्राधिकरणको विनियमावली अनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाख देखि १० लाख रुपैयाँको मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरहरुका आधारमा पीडित बालकको परिवारलाई सहयोग गरिएको उल्लेख गर्दै मानिसको जीवनभन्दा जतिसुकै ठूलो रकम पनि कम हुने बताए।

‘यो रकमले पीडा भुलाउने त होइन तर जीवनयापनमा थोरै भए पनि सहयोग होस् भन्ने अपेक्षा गरिएको छ’, मन्त्री श्रेष्ठले भने।

उर्जा मन्त्रालय क्षतिपूर्ति