


बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे सादा पोसाकमा रहेका करिब १५ जना तथा हतियारसहित थप करिब ६० जना भारतीय एसएसबीका सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेका थिए।
उनीहरूले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माणाधीन करिब १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएको स्थानीयको दाबी छ। बाँध भत्काइएपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय एसएसबी दुई देशबीचको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरी बाँध भत्काएको हो।
उनले हतियारसहित आएका सुरक्षाकर्मीलाई स्थानीयले रोक्ने प्रयास गरे पनि सफल हुन नसकेको र घटनाका क्रममा दुवै पक्षबीच विवाद भएको जानकारी दिए।
यसअघि पनि गत असार महिनामा भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएको भन्दै निर्माण कार्य अवरुद्ध भएको थियो।
सुस्ता क्षेत्र नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा परिचित छ। स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले बारम्बार धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट पटक–पटक हुने हस्तक्षेपका कारण यहाँ सीमा विवाद दोहोरिने गरेको छ।
नेपाली भूमि भारतीय एसएसबी सुस्ता

