



पश्चिम नवलपरासी । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्याउन सांकेतिक रूपमा प्रयोग हुँदै आएको सिमलको रुख नारायणी नदीको बाढीले बगाएको छ ।
सुस्तामा सीमा स्तम्भ नहुँदा नेपाल र भारत दुवै पक्षको सहमतिमा उक्त रुखलाई सांकेतिक सीमा चिन्हका रूपमा मानिँदै आएको थियो । रुख बाढीले बगाएपछि अब सीमा छुट्याउने विषयमा थप जटिलता आउन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँका अनुसार करिब १८ वर्षअघि (२०६५ साल) नेपाल र भारततर्फका जिल्लास्तरीय सुरक्षा प्रमुख तथा स्थानीयको सहभागितामा सिमलको रुखलाई सांकेतिक सीमा चिन्हका रूपमा कायम गरिएको थियो ।
तर, नारायणीमा गएको राति आएको बाढीले उक्त रुख नै बगाएको खाँले बताए । बाढीका कारण सुस्ताको थारू टोलामा समेत पानी पसेको भए पनि ठूलो क्षति भने नभएको स्थानीयले बताएका छन् ।
सुस्तामा हाल करिब २२० घरधुरीमा १ हजार ४५७ जनाको बसोबास रहेको बताइएको छ । सीमा स्तम्भ नहुँदा यसअघि पनि भारतीय पक्षबाट पटक–पटक सीमा विवाद उठ्ने गरेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार सुस्ता गाउँलाई बाढीबाट जोगाउन नारायणी नदीमा सरकारले १३२ मिटर लामो तटबन्ध निर्माण गर्न लागेको थियो । तर करिब एक महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले काममा अवरोध गरेपछि तटबन्ध निर्माण अघि बढ्न नसकेको र त्यही क्षेत्रबाट बाढी गाउँतर्फ पसेको उनीहरूको दाबी छ ।
सीमा छुट्याउन प्रयोग हुँदै आएको सांकेतिक चिन्हसमेत बाढीले बगाएपछि सुस्ताको सीमा सुरक्षा तथा स्थानीयस्तरमा उत्पन्न हुनसक्ने विवादप्रति तत्काल ध्यान दिन स्थानीयले सरकारसँग माग गरेका छन् ।
नेपाल–भारत सीमा सुस्ता

