Logo
२१ साउन २०८३, बिहीबार

देउवाको स्वदेश फिर्ती, सर्वोच्चको पुनरावलोकन र कांग्रेसमा शक्ति संघर्ष

अक्षरपाटी
२०८३ साउन २१ , बिहीबार ०६:०८ मा प्रकाशित

काठमाडौं । करिब साढे पाँच महिनाको विदेश बसाइ टुंग्याएर नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।

उपचारका लागि फागुन १३ गते सिंगापुर गएका उनी त्यहाँबाट हङकङमा पुगेका थिए। उनको स्वदेश फिर्ती, कांग्रेसभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको पछिल्लो आदेश संयोगबस एकै समयमा हुन गएका छन्। त्यसैले कतिपयले यसलाई सामान्य राजनीतिक घटनाभन्दा शक्ति–सन्तुलनको संकेतका रूपमा हेर्न थालेका छन्।

देउवाको अनुपस्थितिमा कांग्रेसको राजनीतिले फरक मोड लिने अवस्थामा सिर्जना भएकाे छ। बीपी पुत्र शशांकलाई अघि सारेर पार्टी नै विभाजनकाे संघारमा पुगेका बेला देउवाको स्वदेश फिर्तिको समाचार र अदालतको आदेश आएको छ।

दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टी दुई ध्रुवमा विभाजित बन्यो। एउटा पक्षले विशेष महाधिवेशनलाई पार्टी विधानअनुसारको वैधानिक प्रक्रिया मानेको छ भने अर्को पक्षले त्यसलाई अस्वीकार गर्दै अदालतको ढोका ढकढक्याएको छ।

यहीबीच बिहीबार सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएको अघिल्लो फैसलामाथि पुनरावलोकनको निस्सा प्रदान गरेको छ। प्रधान न्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासको आदेशसँगै कांग्रेसको आधिकारिकता विवाद फेरि सुरुदेखि सुनुवाइ हुने भएको छ। कानुनी रूपमा यसले विशेष महाधिवेशनबाट गगन थापाले लिएको नेतृत्वकाे वैधानिकता माथि अन्तिम निर्णय अझै बाँकी छ भन्ने संकेत दिएको छ।

किन अर्थपूर्ण देउवाको स्वदेश फिर्ति?

देउवा साउन २६ गते काठमाडौं अवतरण गर्ने सूचना उनी निकट नेता डा प्रकाशसरण महतले सार्वजनिक गरेका छन्। आजै कांग्रेसको वैधानिकतामाथि सुरुदेखि सुनुवाइ गर्ने अदालतले आदेश दिएको छ। देउवा फर्कने तीन दिनपछि अर्थात् साउन २९ देखि ३१ गतेसम्म देउवा पक्षले राष्ट्रिय भेला आयोजना गरेको छ। जसका लागि विभिन्न समिति समेत गठन गरिएका छन्। अदालतको आदेश, देउवाको फिर्ती र राष्ट्रिय भेला एउटै समयक्रममा पर्नुले कांग्रेसभित्र शक्ति प्रदर्शनको नयाँ चरण सुरु हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरुको छ।

देउवा लामो समय प्रत्यक्ष राजनीतिक गतिविधिबाट बाहिर रहँदा उनका समर्थकहरू नेतृत्वविहीनजस्तै थिए। एकखालको छटपटी थियो र जसले पार्टीमा समानान्तर गतिविधि सुरु गरेका थिए। नयाँ पुस्ताले नेतृत्व गरे पनि काँग्रेसको वर्तमान नेतृत्वले पनि पुराना र अनुभवी नेताका मागलाई सम्वोधनभन्दा अटेरी गरेको र निस्चित कोटरीका कुरामा रमाएको आरोप लाग्दै आएको छ।

अब देउवाको उपस्थितिले उनी पक्षीय गुटलाई पुनः सक्रिय बनाउने र अदालतको प्रक्रियासँगै राजनीतिक दबाब पनि बढाउने अपेक्षा देउवा पक्षमा देखिन्छ। तर देउवाले भने राजनीतिक जीवनको उत्तरार्धमा कुनखाले भूमिका निर्वाह गर्छन भन्ने कुरा हेर्न भने पर्खनै पर्ने एक मध्यमार्गी कांग्रेसी नेताको भनाइ छ।

त्यो घोषणा

यसअघि देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन सुरु भएपछि आरजु राणा देउवाले दुई महिनाको समय माग्दै साउन अन्तिममा देश फर्कने घोषणा गरेकी थिइन्। त्यसबेला धेरै राजनीतिक विश्लेषकहरूले त्यसलाई यात्रा तालिका मात्र नभई राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका थिए।

शेरबहादुर देउवा स्वयं साउन २६ गते फर्किने निश्चित भएपछि त्यसलाई पनि कांग्रेसभित्रको विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ। यसले पार्टीभित्रको शक्ति संघर्षसँगै बाहिर देखिएका दबाबलाई प्रत्यक्ष रूपमा सामना गर्ने संकेतका रुपमा एकथरीले विश्लेषण गरेका छन्।

अदालतको आदेशले कांग्रेसमा तरंग

सर्वोच्चको आदेशले कांग्रेस पार्टीमा एकखालको तरंग नै ल्याएको छ। उसो त पुनरावलोकनको निस्सा प्राप्त हुनु अन्तिम फैसला होइन। तर अदालतले विस्तृत सुनुवाइपछि अघिल्लो फैसला सदर गर्न, उल्ट्याउन वा कुनै मध्यमार्गी आदेश दिन सक्छ।

कांग्रेसका केही नेताहरूका अनुसार विशेष महाधिवेशन प्रक्रियामा विधानका दुई महत्वपूर्ण प्रावधानमाथि प्रश्न उठेकाले अदालतले दुवै पक्षलाई समेट्ने व्याख्या गर्ने सम्भावना पनि अस्वीकार गर्न सकिँदैन। पहिलेकै आदेश सदर वा बदर पनि हुनसक्छ, यद्यपि त्यो केवल सम्भावना मात्र हो, अन्तिम निष्कर्ष अदालतको सुनुवाइपछि मात्र स्पष्ट हुने राजनीतिक विश्लेषकहरु बताउँछन्।

विश्वप्रकाश शर्माको सन्देश

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भने सर्वोच्चको आदेशलाई फरक ढंगले व्याख्या गरेका छन्। उनले ‘पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई अझ फराकिलो ढंगले उजागर गर्न मद्दत गर्नेछ’ भन्ने प्रतिक्रिया दिएका छन्।

उनको अभिव्यक्तिले विशेष महाधिवेशन पक्ष अदालतको पुनः सुनुवाइबाट पनि आफ्नो निर्णय वैधानिक ठहरिनेमा विश्वस्त रहेको संकेत गर्छ। अर्थात् अदालतको आदेशलाई उनीहरूले चुनौती होइन, आफ्नो पक्ष थप पुष्टि गर्ने अवसरका रूपमा हेरेका छन्।

यद्यपि कांग्रेस यतिबेला तीन ध्रुबमा विभाजित छ। एक सँस्थापन पक्ष, अर्को देउवा पक्ष र मध्यमार्गी पक्ष। तीन पक्षसँग कांग्रेसका अघिल्तिर तीन अवस्था पनि सिर्जना भएका छन्। पहिलो: अदालतमा आधिकारिकताको कानुनी लडाइँ। दोस्रो: देउवा पक्षको राष्ट्रिय भेलामार्फत हुने राजनीतिक शक्ति प्रदर्शनदेखि विभाजन र तेस्रो: गगन थापा नेतृत्वले वैधता कायम राख्ने र कार्यकर्ताको विश्वास जोगाउने चुनौती।

देउवाको स्वदेश फिर्ती, सर्वोच्च अदालतको पुनरावलोकन आदेश र देउवा पक्षको राष्ट्रिय भेला, यी तीन परिस्थितिले कांग्रेसको आन्तरिक राजनीतिलाई निकै चासोपूर्ण अवस्थामा उभ्याएका छन्। त्यसैले आगामी केही समय कांग्रेसको मात्र होइन, समग्र राष्ट्रिय राजनीतिको दिशासमेत प्रभावित पार्न सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन्।

गगन थापा नेपाली कांग्रेस शेरबहादुर देउवा