


काठमाडौं । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ)को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई जीवितै उद्धार गरेको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको अवस्थामा उद्धार टोलीले माटोमुनि पुरिएकी बालिकालाई फेला पारेको हो।
उद्धारपछि उनलाई आवश्यक उपचारका लागि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।
यसैबीच, त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि प्रयास तीव्र पारिएको छ।
गृहमन्त्री सुधन गुरुङका अनुसार उद्धार टोली सुरुङको माथिल्लो भाग अर्थात् क्राउनसम्म पुग्न सफल भएको छ।
गृहमन्त्री गुरुङले भनेका छन्,’हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट अक्सिजन पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ।’
सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्था यकिन गर्न तथा उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले प्राविधिक विधिबाट काम अघि बढाइरहेको छ।
रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा ठूलो क्षति पुगेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतका सुरक्षा निकायका १८ हजार ७ सयभन्दा बढी सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा परिचालित छन्।
उद्धार तथा राहत भोटेकोशी बाढी

