



काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज १३ जिल्लामा हुँदैछ। अत्यधिक वर्षाका कारण असोज १० गतेका लागि तय भएको अधिवेशन निर्वाचन समितिले असोज १३ गतेभित्र आफूअनुकूल मिति तय गरी सम्पन्न गर्न सकिने विकल्प दिएपछि विभिन्न जिल्लामा फरक–फरक मितिमा अधिवेशन भइरहेको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालीकोट र सुर्खेतमा क्षेत्रीय अधिवेशन हुँदैछ।
भोलि असोज १२ गते ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीमा अधिवेशन हुनेछ।
असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा तथा असोज १४ गते इलाममा क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार १७ जिल्लाले भने पूर्वनिर्धारित तालिकाअनुसार असोज १० गते नै अधिवेशन सम्पन्न गरिसकेका छन्। डडेलधुरा, मनाङ, मुस्ताङ र बैतडीको क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ। डडेलधुरा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो।
त्यस्तै संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा निर्वाचन प्रक्रिया जारी रहेको समितिले जनाएको छ। बाँकी जिल्लामा पनि असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने तयारी छ।
प्रतिनिधिका लागि ठूलो भिडन्त
संघीय निर्वाचन क्षेत्रीय अधिवेशन कांग्रेसको महाधिवेशन प्रक्रियामा महत्वपूर्ण चरण मानिन्छ। यही अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुन्छन्।
केन्द्रीय महाधिवेशनमा सहभागी हुन तथा केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधि हुनुपर्ने वैधानिक प्राव्धान भएकाले यसपटक प्रतिनिधि चयनका लागि नेतादेखि नवयुवाबीच प्रतिस्पर्धा देखिएको छ। चर्चित कलाकार, डाक्टर, पेसाकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूसमेत महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएका छन्।
उम्मेदवारहरूले क्षेत्रीय प्रतिनिधिसँग प्रत्यक्ष भेटघाटसँगै फोन, एसएमएस र सामाजिक सञ्जालमार्फत प्रचारलाई तीव्र बनाएका छन्। पालिका सभापति तथा प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने संघीय र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका पदेन सदस्य तथा स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। उनीहरूलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार भने नरहेको कांग्रेसको विधानमा उल्लेख छ।
संघीय क्षेत्रीय कार्यसमितिमा १८ सदस्य निर्वाचित
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन्। सहसचिवमा एक महिलासहित दुई जना निर्वाचित हुनेछन् भने कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ। कार्यसमितिमा उपसभापतिको व्यवस्था गरिएको छैन।
कार्यसमितिका १८ सदस्य निर्वाचित हुनेछन्। प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ बाट एक महिला र दुई खुलासहित तीन–तीन जना गरी ६ जना निर्वाचित हुनेछन्। त्यस्तै खुलातर्फ एक महिलासहित चार जना, युवातर्फ एक महिलासहित दुई जना र जनसंख्याका आधारमा समानुपातिकतर्फ ६ जना निर्वाचित हुने व्यवस्था छ। थप ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा मनोनयन गर्न सकिनेछ।
संघीय निर्वाचन क्षेत्रबाट ३३ महाधिवेशन प्रतिनिधि
क्षेत्रीय अधिवेशनबाट हरेक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्। जसमा महिला चार, खुला १०, एक महिलासहित तीन युवा र जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना चयन हुनेछन्।
त्यसबाहेक श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसंख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना प्रतिनिधि चयन हुने व्यवस्था छ।
यही अधिवेशनबाट महासमिति सदस्यसमेत चयन हुनेछन्। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसंख्याका आधारमा समानुपातिकतर्फ चार गरी १२ जना महासमिति सदस्य चयन हुनेछन्।
प्रदेश सभा क्षेत्रमा पनि नयाँ नेतृत्व
प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवै क्षेत्रमा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन हुँदैछन्। प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन्। सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन् भने कोषाध्यक्ष कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा मनोनयन गरिनेछ।
कार्यसमिति सदस्यमा दुई महिला, एक दलित, एक युवा, तीन खुला तथा जनसंख्याका आधारमा समानुपातिकतर्फ ६ जना निर्वाचित हुनेछन्। थप सात जनालाई मनोनयन गर्न सकिने व्यवस्था छ।
प्रदेश प्रतिनिधिमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा र जनसंख्याका आधारमा समानुपातिकतर्फ ६ जना चयन हुनेछन्। साथै पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना प्रदेश प्रतिनिधि चयन गर्न सकिनेछ।
क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि कांग्रेसको महाधिवेशन प्रक्रिया केन्द्रीय तहमा प्रवेश गर्नेछ। कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने तयारी गरेको छ। कांग्रेसको महाधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन

