Logo
१५ असोज २०८३, बिहीबार

महाधिवेशनको मैदानमा महर : ‘सबैको एक, बलियो कांग्रेस’ बनाउने अभियान लिएर देश दौडाहामा

अक्षरपाटी
२०८३ असोज १५ , बिहीबार १२:१० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसँध्यामा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले देशव्यापी भेटघाट र संवादलाई तीव्रता दिएका छन्। पार्टी संगठनलाई नयाँ सोच, नयाँ कार्यशैली र राजनीतिक संस्कारसँग जोड्ने एजेन्डासहित महर यतिबेला मधेस हुँदै कोशी प्रदेशतर्फको यात्रामा छन्।

डडेल्धुरा कांग्रेसले महरलाई १५औँ महाधिवेशनमा महामन्त्री पदमा अघि बढाउने प्रस्ताव पारित गरेपछि उनले सुदूरपश्चिमबाट आफ्नो अभियानलाई तीव्र बनाएका हुन्। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया हुँदै दाङसम्म पुगेर उनले नेता–कार्यकर्ता तथा पत्रकारहरूसँग भेटघाट गरी आफ्नो उम्मेदवारी र राजनीतिक दृष्टिकोणबारे प्रष्टिकरण दिएका छन्।

त्यसपछि कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम र नवलपुरका कांग्रेस नेता–कार्यकर्तासँग भेटघाट गरेका महरले गैँडाकोटमा कार्यकर्ता भेटघाट गर्दै महामन्त्री पदमा आफ्नो उम्मेदवारीबारे धारणा राखेका थिए। चितवन र मकवानपुर हुँदै उनले मधेस प्रदेशका नेता–कार्यकर्तासँग भेटघाट र विमर्श गरेका छन्।

मधेशको बारा, पर्सा, रौतहट र सर्लाहीका कांग्रेसजनसँगको भेटघाटपछि महरको टोली महोत्तरी, धनुषा, सिरहा र सप्तरी हुँदै कोशी प्रदेशको यात्रामा निष्किएको उनको सचिवालयले जनाएको छ।

महरले आफ्नो अभियानलाई केवल उम्मेदवारीको प्रचारभन्दा पनि कांग्रेसको आगामी दिशा, संगठन निर्माण र राजनीतिक संस्कारबारे जागरण र बहसको अभियानका रूपमा अघि बढाइरहेको बताएका छन्।

उनले अक्षरपाटीसँग भने, ‘मेरो मूल राजनीतिक सन्देश हो- ‘सबैको एक, बलियो कांग्रेस।’

किन महामन्त्री ?

महरले महामन्त्री पदमा उम्मेदवारी दिनुको आधारका रूपमा नयाँ सोच, नयाँ संगठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कारलाई अघि सारेका छन्। उनका अनुसार नेतृत्वको बहस व्यक्तिमा सीमित नभई दृष्टिकोण र व्यवहारमा केन्द्रित हुनुपर्छ। कांग्रेसको संगठनलाई विचार, नीति र कार्यान्वयनसँग जोड्ने नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ।

‘नेतृत्वको बहस व्यक्तिमा होइन, दृष्टिकोणमा हुनुपर्छ। विचारलाई व्यवहारमै उतार्नुपर्छ, अब भाषणमा होइन व्यवहारमा प्रमाणित हुनुपर्छ’, भन्ने धारणा उनले भेटघाटका क्रममा राख्दै आएका छन्।

केका लागि महर ?

महरले शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण स्वामित्वमा ल्याउने, बालशिक्षामा राज्यको लगानी बढाउने तथा राजनीतिलाई उत्पादनसँग जोड्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

कृषिको आधुनिकीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण, युवाको सीप, क्षमता र ऊर्जालाई राष्ट्र निर्माणमा उपयोग, विदेशमा रहेका नेपालीको सीप तथा स्रोतलाई स्वदेशमै परिचालन गर्ने वातावरण निर्माण र राजनीतिमा नैतिकता तथा पारदर्शिता कायम गर्ने उनको एजेन्डा छ।

त्यसैगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने विषयलाई समेत उनले आफ्नो राजनीतिक प्राथमिकतामा समेटेका छन्।

को हुन् नैनसिंह महर ?

डडेलधुराको भागेश्वर–३, लामिकाडेमा २०३१ साउन १४ गते जन्मिएका महर अभाव र संघर्षबाट राजनीतिक यात्रामा आएका कांग्रेस नेता हुन्। पिता तुला महर र माता ललिता महरका कान्छा पुत्र महरले विद्यार्थी राजनीतिबाट आफ्नो संगठनात्मक यात्रा सुरु गरेका थिए।

राजनीतिशास्त्रमा स्नातकोत्तर तथा एलएलबी गरेका महर पत्रकार, लेखक र लोकतान्त्रिक अभियन्ताका रूपमा समेत परिचित छन्। उनका ६ वटा पुस्तक प्रकाशित छन्। विद्यार्थी आन्दोलन हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिसम्म आइपुगेका उनी अहिले कांग्रेस केन्द्रीय सदस्य छन्।

१६ वर्षमै विद्यार्थी नेतृत्व

महरको राजनीतिक यात्रा कक्षा ८ मा अध्ययन गर्दादेखि नेपाल विद्यार्थी संघमा आबद्ध भएर सुरु भएको थियो। २०४७ सालमा १६ वर्षकै उमेरमा उनी असीग्राम माध्यमिक विद्यालयको नेविसंघ इकाइ अध्यक्ष बने।

त्यसपछि २०५२ मा नेविसंघ डडेल्धुराको कार्यवाहक अध्यक्ष, २०५६ मा निर्वाचित जिल्ला अध्यक्ष र २०५७ मा नेविसंघ केन्द्रीय सदस्य बने। २०६४ मा केन्द्रीय उपाध्यक्ष हुँदै २०७३ मा नेविसंघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाले। २०८२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत बनेका महर अहिले कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि देशव्यापी भेटघाटमा छन्।

संगठनलाई नयाँ पुस्तासँग जोड्ने, राजनीतिलाई उत्पादनसँग जोड्ने र कांग्रेसभित्र नीति तथा कार्यशैलीको बहस अघि बढाउने लक्ष्यसहित महरले आफ्नो महाधिवेशन अभियानलाई सुदूरपश्चिमदेखि मधेस हुँदै कोशीसम्म विस्तार गरेका छन्।

नेपाली कांग्रेस नैनसिंह महर १५औँ केन्द्रीय महाधिवेशन

ट्रेन्डिङ ( साप्ताहिक )