Logo
२२ असोज २०८३, बिहीबार

दसैंमा जुनसुकै ब्रान्डको खाली सिलिन्डर दिएर काठमाडौंमा ग्यास लिन पाइने

अक्षरपाटी
२०८३ असोज २२ , बिहीबार १२:१० मा प्रकाशित

काठमाडौं। दसैंका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर ग्यास लिन सकिने व्यवस्था गरिने भएको छ।

नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायबीचको समन्वयमा उपभोक्तालाई लक्षित गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो। यसअनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डभन्दा फरक कम्पनीको खाली सिलिन्डर भए पनि तोकिएका बिक्री केन्द्रबाट ग्यास लिन सक्नेछन्।

यसका लागि उपभोक्ताबाट कुनै अतिरिक्त शुल्क लिइने छैन।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि सिलिन्डरको ब्रान्ड फरक भएकै कारण समस्या भोग्न नपरोस् भनेर यस्तो व्यवस्था गर्न लागिएको हो।

‘कोही मान्छेसँग एउटै सिलिन्डर छ, उसलाई अलि गाह्रो भइरहेको छ। बजारमा ग्यास आएको पनि छ, तर सिलिन्डर फरक परेको कारण कतिपयले दुःख पाइरहेका छन्,’ साहले भने, ‘त्यसैले हामीले नै उद्योगीहरूलाई अनुरोध गरेका हौं। उपभोक्तालाई राहत दिनुपर्‍यो भन्ने हाम्रो भनाइ हो।’

विगतमा फरक कम्पनीको सिलिन्डर साट्दा डिलरहरूले उपभोक्ताबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो आउने गरेको भए पनि अब त्यस्तो शुल्क लिन नपाइने साहले स्पष्ट पारे।

वास्तविक उपभोक्तालाई मात्र सुविधा

उद्योगी घिमिरेका अनुसार यो सुविधा ग्यास डिलर वा व्यवसायीका लागि नभई ग्यास अभावका कारण समस्या भोगिरहेका वास्तविक उपभोक्ताका लागि मात्र उपलब्ध गराइनेछ।

ग्यासको दुरुपयोग रोक्न काउन्टरबाट ग्यास लिँदा उपभोक्ताको पहिचान खुल्ने विवरण राखिनेछ। त्यसका लागि नागरिकता वा अन्य परिचय खुल्ने प्रमाणको प्रतिलिपि तथा मोबाइल नम्बर लिएर मात्र ग्यास उपलब्ध गराउने तयारी छ।

‘हामी यो डिलर वा व्यवसायीलाई दिँदैनौं। उपभोक्ताको नागरिकता वा केही निस्सा र मोबाइल नम्बर राखेर मात्र ग्यास दिन्छौं,’ घिमिरेले भने, ‘यसबाट राज्यले पनि अनुगमन गर्न सक्छ। वास्तविक पीडित उपभोक्ताले सुविधा पाऊन् भन्ने हाम्रो चाहना हो।’

ग्यास सिलिन्डर

ट्रेन्डिङ ( साप्ताहिक )