Logo
३० असोज २०८३, शुक्रबार

कांग्रेसको मतगणना सकियो, शपथग्रहण दसैँपछि

अक्षरपाटी
२०८३ असोज ३० , शुक्रबार १२:१० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना एक सातामा सकिएको छ। मधेश र बागमती प्रदेशको अन्तिम मतपरिणाम आएसँगै शुक्रबार बिहान सबै पदको मतगणना सम्पन्न भएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार असोज २३ गते रातिदेखि सुरु भएको मतगणना झन्डै एक सातामा सकिएको हो। सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।

लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको थियो। त्यस्तै, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खसआर्य र थारू समूहको मतगणना पनि राति अबेर सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

सभापति पदको मतगणना मतदान भएकै दिन असोज २३ गते राति सुरु गरिएको थियो। त्यसको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।

निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको हो। कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।

यसपटक मतगणना सुरु भएकै दिनदेखि दिन र रातमा गरी झन्डै २५ समूह बनाएर गणना गरिएको थियो। निर्वाचन समितिका अनुसार मतदान तथा मतगणनाका क्रममा कुनै विवाद उत्पन्न नभई सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ।

यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।

अघिल्लो महाधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको निर्वाचन समितिको दाबी छ।

निर्वाचन समितिका अनुसार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी गरिएको छ। त्यसपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्नेछ।

नयाँ कार्यसमितिको पहिलो बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा रणनीतिसम्बन्धी खाका बनाउने विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्।

नेपाली कांग्रेस