


० अक्षरपाटी विशेष
अत्तरिया ३० असोज। पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुडिरहेका सवारीसाधनको निरन्तर चहलपहल हुने चोक। सुदूरपश्चिमका नौवटै जिल्लालाई जोड्ने अत्तरिया चौराहा। यही व्यस्त र सहरीकरण बढ्दै गएको बजारमा दुई दशकदेखि एउटा अस्पताल निरन्तर सेवामा समर्पित छ-पद्मा अस्पताल प्रालि।
वि.सं. २०६३ मा कैलालीको गोदावरी–१, अत्तरियामा स्थापना भएको पद्मा अस्पतालको कथा केवल एउटा निजी स्वास्थ्य संस्थाको मात्र होइन। यो सुदूरपश्चिममा निजी स्वास्थ्य सेवाको विस्तारसँग जोडिएको एउटा महत्वपूर्ण अध्यायका रुपमा परिचित छ।
त्यतिबेला सुदूरपश्चिममा स्वास्थ्य उपचारका लागि सरकारी अस्पतालकै भर पर्नुपर्ने हुन्थ्यो। त्यो पनि दरबन्दी अनुसारका डाक्टर नहुने त कतै उपचारका लागि पालै नपाइने।
अझ राजमार्गमा हुने दुर्घटनाका घाइतेका लागि समयमै उपचार पाउनु बरदान पाएजस्तै हुन्थ्यो। अस्पतालको पहुँच सीमित थियो, विशेषज्ञ सेवा सहज थिएन र निजी अस्पतालप्रति आमनागरिकको विश्वास पनि तत्काल जित्न सक्ने अवस्था थिएन।
त्यही पृष्ठभूमिमा स्थापना भएको थियो, पद्मा अस्पताल। जसले विस्तारै आफ्नो पहिचान बनाउँदै गयो। अचानक दुर्घटनामा परेका घाइतेदेखि गम्भीर बिरामीसम्मका लागि तत्काल उपचारको ढोका खोल्नु अस्पतालको प्रारम्भिक पहिचान बन्यो। दुर्घटनामा पर्ने धेरैका लागि त अस्पताल केवल उपचार गर्ने ठाउँ मात्र भएन, जीवन जोगाउने अन्तिम आशाको केन्द्र बन्यो।
स्थापनाकालदेखिका वरिष्ठ अर्थोपेडिक सर्जन डा. नरबहादुर मौनीले अस्पातल यहाँसम्मा आइपुग्नुमा आफैमा एउटा लामाे कथाजस्तै अनुभव होला। अस्पतालका अध्यक्ष गजेन्द्रबीर चन्दले त्यो समयमा निजी क्षेत्रबाट अस्पताल स्थापना गर्नु र त्यसलाई चलाउनुन नै जोखिमपूर्ण भएको सुनाए।
त्यसबेला निजी अस्पतालमा उपचार गराउन नागरिकलाई आकर्षित गर्नु नै ठूलो चुनौती थियो। सरकारी स्वास्थ्य संस्थामाथि रहेको पुरानो भरोसा र निजी अस्पतालप्रतिको स्वाभाविक आशंका चिर्न अस्पतालले सेवा र व्यवहार दुवैमा आफूलाई प्रमाणित गर्नुपरेको अनुभव उनले संगालेका छन्।
‘भरपर्दो सेवा, उत्कृष्ट उपचार र सुलभ शुल्कबाटै जनताको विश्वास जित्न सकिन्छ,’ भन्ने सोचलाई अस्पतालले आफ्नो यात्राको आधार बनाएको अध्यक्ष चन्दले स्मरण गरे। समयसँगै पद्मा अस्पताल पनि बदलिँदै गयो। प्रारम्भिक अवस्थामा सीमित स्वास्थ्य सेवाबाट सुरु भएको अस्पताल अहिले विभिन्न विशेषज्ञ सेवा र आधुनिक स्वास्थ्य सुविधासहित अघि बढेको छ।

सेवाहरु
अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, आईसीयू/एनआईसीयू, रेडियोलोजी, यूएसजी, एक्स–रे, इको, ईसीजी, प्याथोलोजी, फार्मेसी, एन्डोस्कोपी, अर्थोपेडिक, जनरल सर्जरी तथा स्त्रीरोगसम्बन्धी सेवा उपलब्ध छन्।
विशेषज्ञ चिकित्सकको सेवाले पनि अस्पतालको पहिचानलाई थप भरपर्दो बनाएको छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा. नरबहादुर मौनी, डाक्टर नरेन्द्र पाण्डेय, डाक्टर गणेश फुलाराजस्ता विशेषज्ञको उपस्थितिलाई सुदूरपश्चिमको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ। हाडजोर्नी तथा नसासम्बन्धी उपचारका लागि बिरामीले टाढा धाउनुपर्ने बाध्यता निकै कम भएको छ।
राजमार्गसँग जोडिएको अस्पताल भएकाले दुर्घटनाका घाइतेका लागि पद्मा अस्पतालको भूमिका अझ महत्वपूर्ण रहेको छ। अत्तरिया सुदूरपश्चिमका विभिन्न जिल्ला र पहाडी क्षेत्रतर्फ जाने प्रमुख प्रवेशद्वारसमेत भएकाले आकस्मिक उपचारका लागि उपलब्धताका दृष्टिले पनि अस्पताल धेरैको पहिलो रोजाइ बन्ने गरेको छ।
यही अस्पतालले दुर्घटनामा परेका कैयाैँ घाइतेहरुलाई पुनर्जिवन दिएको छ। कैयाैँ परिवारका अभिभावक, आफन्तले उपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरेको पनि स्थानीयहरु सम्झन्छन्।
दुई दशक लामो यात्रामा अस्पतालले सँधै एउटा कुरामा सँधै सचेत देखिन्छ,’जनताको विश्वास नै स्वास्थ्य संस्थाको वास्तविक पूँजी हो।’
स्थापनाको समयमा निजी अस्पतालप्रति विश्वास जगाउन संघर्ष गरेको पद्मा अस्पताल आज यात्राको अर्को चरणमा छ। ‘प्रविधि थपिँदैछन्, विशेषज्ञ सेवा विस्तार हुँदैछ र उपचारका नयाँ विधि भित्रिँएका छन्’, अध्यक्ष चन्दले अक्षरपाटीलाई बताए।
सुदूरपश्चिममा निजी स्वास्थ्य सेवाको जग बस्दै गरेको समयदेखि आजसम्म आइपुग्दा पद्मा अस्पतालले केवल भवन र सेवा विस्तार गरेको छैन, स्वास्थ्य उपचारमा निजी क्षेत्रप्रतिको विश्वास पनि विस्तार गरेको छ।
अत्तरियाको चौराहामा स्थापित पद्मा अस्पताल दुई दशकको यात्राका दाैरान बदलिँदो स्वास्थ्य आवश्यकता र बढ्दो जनअपेक्षाबीच ‘उपचारको केन्द्र’बाट ‘आशाको केन्द्र’ बन्ने निरन्तर यात्रामा अघि बढिरहेको अध्यक्ष गजेन्द्रबीर चन्दले बताए।



