Logo
४ कात्तिक २०८३, मंगलबार

आज महानवमी : वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

अक्षरपाटी
२०८३ कात्तिक ४ , मंगलबार १०:१० मा प्रकाशित

काठमाडौं । वर्षभरि बन्द रहने हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर महानवमीको अवसरमा आज सर्वसाधारणका लागि खुला गरिएको छ। तलेजु भवानीको दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ।

महानवमीका दिन मात्र तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला रहने परम्परा छ। यस वर्ष पनि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

नवरात्रको अन्तिम दिनका रूपमा मनाइने महानवमीमा देशभरका शक्तिपीठमा विशेष पूजा, आराधना र दर्शन गर्ने क्रम चलिरहेको छ। घटस्थापनाका दिन स्थापना गरिएको जमरा आज विभिन्न शक्तिपीठमा लगेर चढाउने तथा नवदुर्गामध्ये नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गर्ने चलन छ।

महानवमीमा देवी मन्दिर तथा शक्तिपीठहरूमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। दशैंघर, कोत तथा विभिन्न शक्तिपीठमा विशेष पूजा गरिनुका साथै कतिपय स्थानमा बलिसमेत दिने परम्परा छ।

पशुबलि नदिने तथा शाकाहारी भक्तजनले भने कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवललाई प्रतीकात्मक बलिका रूपमा चढाउने गर्छन्। कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने परम्परा कायम छ।

महानवमीको अर्को विशेषता कोतपूजा र निशानापूजा हो। हनुमानढोका दरबारदेखि नेपाली सेनाका ब्यारेक तथा गुल्मसम्म बाजागाजासहित जङ्गी निशाना र कोतपूजा गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार महानवमीलाई शक्ति आराधनाको विशेष दिनका रूपमा लिइन्छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार यही तिथिमा चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमीको धार्मिक महत्त्व विशेष रहेको मानिन्छ।

आज पूजा कोठा तथा दशैंघरमा सिद्धिदात्री देवीको आराधनासँगै महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत पूजा गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने चलन पनि छ।

यससँगै महानवमीले नेपाली समाजमा धर्म र संस्कृतिसँगै पुस्तौँदेखि चलिआएका परम्परा र सम्पदा संरक्षणको सन्देशसमेत बोकेको छ। विशेषगरी वर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनलाई काठमाडौं उपत्यकाको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडेर हेर्ने गरिन्छ।

नवरात्रको अन्तिम दिन भएकाले आज देशभरका प्रमुख शक्तिपीठमा दर्शनार्थीको चहलपहल बढेको छ। महानवमीपछि भोलि विजयादशमी मनाइँदैछ, भोलि टीका र जमरा लगाउने क्रम सुरु हुनेछ।

तलेजु भवानी मन्दिर दसैँ महानवमी

ट्रेन्डिङ ( साप्ताहिक )