Logo
१४ वैशाख २०८१, शुक्रबार

यो दसैँमा २० लाखले काठमाडौं छोड्ने

अक्षरपाटी
२०७९ असोज १० , सोमबार ०४:०९ मा प्रकाशित

काठमाडौं। बडादसैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ।

उपत्यका बाहिरिन बढेसँगै दसैँमा घर जानेको संख्या २० लाख पुग्ने अनुमान गरिएको छ। दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि छ।

गएका दुई दसैँमा कोरोना महामारीका कारण स्थायी घर जान नपाएकाले पनि यस वर्ष घर जानेको संख्या बढी हुने अनुमान गरिएको हो। यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए।

अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो। तीन वर्षअघि काठमाडौं उपत्यकाबाट दसैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा थियो।

दसैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलंकीलगायत उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ।

सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए।

दसैँ