Logo
१६ कात्तिक २०८३, सोमबार

राष्ट्र बैंककी उपनिर्देशक विनिता ह्वीसपर मिसेस नेपाल वर्ल्डको उपाधि

अक्षरपाटी
२०८३ कात्तिक १६ , सोमबार ११:११ मा प्रकाशित

काठमाडाैं। नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ राजधानीमा सम्पन्न ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै शिर्ष उपाधि विजेता भएकी छन्।

दित्तेल, खोटाङकी उनले शीर्ष उपाधि विजेता भएवापत स्कुटर प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने बिबाहित महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। विनीताले तपाईंको बजार बेस्ट पर्सनालिटी उपउपाधिलाई पनि आफ्नो बनाएकी छन्।

रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा विवाहित सुन्दरीहरुको सबैभन्दा ठूलो सो प्रतियोगितमा नेहा गुप्ता फस्ट रनर्सअपका साथ रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस, ज्योति लामिछाने सेकेण्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअपका साथ हर्लिक्स बेस्ट फिजिक भएका छन्।

त्यसै गरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल २०२६ चुनिएकी छन्। क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो २०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल २०२६ का विजेता भएका छन्। यी उपाधि विजेताले जनही ५० हजार रुपियाँ प्राप्त गरेका छन्।

मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मो विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराए।

मिसेस नेपाल वर्ल्ड २०२६