


काठमाडौं । चक्रवात ‘अर्नब’को प्रभावका कारण नेपालमा पुनः भारी वर्षा र बाढीको जोखिम बढ्ने देखिएको छ।
आगामी कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न भागमा वर्षा हुने र विशेषगरी नारायणी, बागमती, कमला तथा कोशी नदी जलाधार क्षेत्रमा नदीको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने प्रारम्भिक पूर्वानुमान गरिएको छ।
नेपाल सरकारको जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको प्रारम्भिक जोखिम आकलनअनुसार कात्तिक १३ र १४ गते बाढीको जोखिम तुलनात्मक रूपमा बढी रहने देखिएको छ।
महाशाखाले चक्रवातको सम्भावित प्रभाव, वर्षाको अवस्था तथा नदीको जलसतहसम्बन्धी पूर्वानुमानका आधारमा पाँच दिनको सम्भावित बाढीपहिरो जोखिम आकलन सार्वजनिक गरेको हो।
कात्तिक १३ गते जोखिम, १४ गतेसम्म सतर्कता
पूर्वानुमानअनुसार कात्तिक ११ गते बुधबार देशभरका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा रहनेछ। तर कात्तिक १२ गते बिहीबारदेखि नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधार क्षेत्रमा नदीको जलसतह बढ्न सक्ने सम्भावना देखिएको छ।
कात्तिक १२ गतेका लागि ती नदी जलाधार क्षेत्रमा न्यून जोखिमको आकलन गरिएको छ। कात्तिक १३ गते भने जोखिम थप बढ्ने अनुमान छ। नारायणी, कोशी र तिनका शाखा नदीहरू तथा बागमती, कमला, तिनाउ र आसपासका जलाधार क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी महाकाली, कर्णाली, पश्चिम राप्ती तथा बबई नदी र तिनका शाखा नदीहरूमा जलसतह सामान्य रूपमा मात्र बढ्ने आकलन गरिएको छ। महाशाखाले कात्तिक १३ गतेका लागि प्रमुख प्रभावित नदी जलाधारमा मध्यम जोखिमको सम्भावना औँल्याएको छ।
कात्तिक १४ गते शनिबार पनि नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधार क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरेको छ। अघिल्ला दिनहरूको वर्षाका कारण प्रमुख नदीहरूको जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने भए पनि सतर्कता तह आसपाससम्म मात्र पुग्ने प्रारम्भिक आकलन गरिएको छ।
कात्तिक १५ गते आइतबारदेखि वर्षाको प्रभाव केही कमजोर हुने र जोखिम घट्दै जाने अनुमान छ।
पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढीको जोखिम
महाशाखाले ठूला नदीहरूको जलसतह मात्र नभई पहाडी तथा चुरे क्षेत्रका साना नदी र खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने जोखिमसमेत औँल्याएको छ। विशेषगरी कात्तिक १२ र १३ गते नारायणी, बागमती, कमला तथा कोशी जलाधारका पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहने प्रारम्भिक आकलन गरेको छ।
त्यस्तै, कोशी तथा नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो तथा अन्य हिमाली जोखिमको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। सम्भावित वर्षा र बाढीको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
नदी तथा खोलाको तटीय क्षेत्र, खोला किनारका सडक, जोखिमयुक्त नदी उपत्यका तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ। अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा पनि मौसम तथा नदीको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न आग्रह गरिएको छ।
अर्नब चक्रवात

