




काठमाडौं । एसीसी राइजिङ स्टार्स कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १२१ रनमै अलआउट गरेको छ। नेपालको धारिलो बलिङसामु निरिह बनेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै सामान्य योगफल तयार गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले सुरुवातदेखि नै दबाब सामना गर्नुपरेको थियो। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि यूएईको ब्याटिङ लाइनअप लामो समय टिक्न सकेन।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३–३ विकेट लिए। सन्दीपले आफ्नो १० ओभरको स्पेलमा मात्र ११ रन खर्चिँदै किफायती बलिङ गरे। उनले यूएईको ब्याटिङलाई नियन्त्रणमा राख्न महत्त्वपूर्ण भूमिका खेले।
यूएईले सुरुवातमै ११ रन जोड्दा दुई विकेट गुमाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका नेपालका रसिद खानले आर्यान्स शर्मालाई ८ रनमा आउट गरे भने अंश टन्डन १ रन बनाउँदै रनआउट भए।
त्यसपछि हर्प्रित सिंह र मुहम्मद सेहदादले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर कप्तान सन्दीप लामिछानेले उक्त साझेदारी तोडेपछि यूएईको ब्याटिङ पुनः धराशयी बन्यो।
यूएईका लागि मुहम्मद सेहदादले सर्वाधिक ४० रन बनाउँदा हर्प्रित सिंहले ३२ रनको योगदान दिए। अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। यूएईका आठ जना ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यूएईविरुद्ध कप्तान सन्दीपले स्पिन बलिङलाई प्राथमिकता दिँदै पाँच जना स्पिनर प्रयोग गरेका थिए। नेपाली बलरहरूको सामूहिक उत्कृष्ट प्रदर्शनका कारण यूएई १२१ रनमै समेटिएको हो।
अब नेपालले १२२ रनको लक्ष्य पछ्याउँदै प्रतियोगितामा दोस्रो जित निकाल्ने लक्ष्य राखेको छ।
एसीसी राइजिङ स्टार्स कप

