




प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन्।
मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरे।
नेपालमा भएको राजनीतिक परिवर्तन तथा आमनिर्वाचनपछि गठन भएको वर्तमान सरकारका प्रमुखबाट भारतमा भएको यो पहिलो द्विपक्षीय भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुका साथै भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गरेका थिए।
वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षसँगै कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार तथा आर्थिक सहकार्य, सीमापार पूर्वाधार, खेलकुद, हवाइ सम्पर्क विस्तार र नागरिस्तरीय सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो।
भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गरेका छन्।
दस्तावेजमा भौतिक तथा डिजिटल कनेक्टिभिटी, ऊर्जा, जलवायु तथा विपद् व्यवस्थापन, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष, नवप्रवर्तन, संस्कृति र पर्यटनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय समेटिएको छ।
त्यस्तै, नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि कोलकाता र विशाखापट्टनमबाहेक भारतका दीनदयाल पोर्ट र पारादीप पोर्टमा पहुँच विस्तार गर्ने सहमति भएको छ।
जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवाको संयुक्त उद्घाटन, दार्चुला–धार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा बनबासामा एकीकृत जाँचचौकीको शिलान्यास पनि भ्रमणका प्रमुख उपलब्धिका रूपमा रहेका छन्।
ऊर्जा क्षेत्रमा इनरुवा–न्यू पूर्णिया तथा दोधारा–बरेली विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानीमा अघि बढ्ने सहमति भएको छ।
तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्याससँगै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन र झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्याससमेत गरिएको छ।
भारतले नेपालको विकास तथा पुनर्निर्माणका लागि भारतीय रुपैयाँ १५ हजार करोड अर्थात् नेपाली रुपैयाँ करिब २ खर्ब ४० अर्ब बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यसमध्ये भारतीय रुपैयाँ ३ हजार ५ सय करोड अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५ सय करोड बराबरको ऋण सुविधा रहनेछ।
भ्रमणका क्रममा नेपालमा भारतीय प्रविधि तथा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले भारतीय प्राविधिक संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने निर्णयसमेत भएको छ।
साथै प्राकृतिक प्रकोप व्यवस्थापन, प्रहरी तथा फरेन्सिक विज्ञान, प्रशासनिक क्षमता अभिवृद्धि, आयुर्वेद, स्याटेलाइट सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्य विकासलगायतका क्षेत्रमा आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–भारत सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काउँदै आर्थिक विकास, ऊर्जा, व्यापार, कनेक्टिभिटी र जनस्तरीय सम्बन्धलाई परिणाममुखी बनाउन नयाँ आधार तयार गरेको बताए।
सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
बालेन्द्र शाह भारत भ्रमण

