




लुम्बिनी । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ।
कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
कोषका अनुसार गुरुयोजना क्षेत्रको संरक्षण, व्यवस्थापन र पवित्रता कायम राख्न निषेधित क्षेत्रमा अनधिकृत रूपमा राखिएका पसल तथा व्यापारिक संरचना हटाउनुपर्ने भएको हो।
२०८३ भदौ १९ गतेदेखि लागू हुने गरी जारी सूचनाअनुसार २४ घण्टाभित्र त्यस्ता पसल तथा संरचना हटाई लैजान सम्बन्धित सबैलाई कोषले आग्रह गरेको छ।
तोकिएको समयसीमाभित्र पसल नहटाए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत कोषले दिएको छ।
लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वलाई ध्यानमा राख्दै गुरुयोजना क्षेत्रभित्रको व्यवस्थापनलाई थप व्यवस्थित बनाउन कोषले निषेधित क्षेत्रमा हुने अनधिकृत गतिविधिमाथि कडाइ गर्न थालेको हो।
लुम्बिनी

