Logo
१३ मंसीर २०८३, आईतबार

जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ, अदालतले न्याय दिन्छ : शेरबहादुर देउवा

अक्षरपाटी
२०८३ मंसीर १३ , आईतबार ०७:११ मा प्रकाशित

सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। उनले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको दाबी गर्दै अदालतबाट आफ्नो पक्षमा फैसला आउने बताएका छन्।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार दुईतिहाइ बहुमतबाट पनि सभापतिबाट नहटाइएको जिकिर गरे।

उनले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै बहस गर्न आवश्यक नभएको बताउँदै नेपालको संविधान र पार्टी विधानअनुसार आफूहरूले आधिकारिकता पाउने दाबी गरे।

‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ। अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ। चुनावबाट जित्ने साथी सभापति बन्नुहुन्छ,’ उनले भने।

देउवाले न्यायालयप्रति आफूलाई राजतन्त्रकालदेखि नै विश्वास रहेको उल्लेख गर्दै अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त रहेको बताए।

आफू पाँचपटक प्रधानमन्त्री भइसकेको र पार्टी तथा देशका जनताबाट पर्याप्त अवसर पाइसकेको उल्लेख गर्दै उनले अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राखे।

‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसकेका छन्। अब मैले देश र जनतालाई दिन बाँकी छ। अब म फेरि न पार्टी सभापति हुन्छु, न प्रधानमन्त्री,’ उनले भने।

नेपाली कांग्रेस शेरबहादुर देउवा

ट्रेन्डिङ ( साप्ताहिक )