Logo
२० भदौ २०८२, शुक्रबार

जम्मा एक चौथाई इन्जिनियर मात्र काउन्सिलको परीक्षामा पास

अक्षरपाटी
२०७९ चैत्र १४ , मंगलबार ०७:०३ मा प्रकाशित

काठमाडौं । इन्जिनियर लाइसेन्स परीक्षामा सहभागीमध्ये धेरै इन्जिनियर पास हुन सकेका छैनन्।

मंगलबार इन्जिनियरिङ काउन्सिलले गरेको पत्रकार सम्मेलनमा नतिजाबारे जानकारी गराइएको हो।

काउन्सिलका अनुसार परीक्षामा सहभागी १ हजार ९ सय ८१ जना विद्यार्थीमध्ये ५ सय ६५ जना मात्रै उत्तिर्ण भएको काउन्सिलका अध्यक्ष पदम शाहीले बताए। यो सहभागी मध्ये एक चौथाइभन्दा थोरै मात्र बढी हो।

शाहीले चैत्र १३ र १४ गते लिएको परीक्षामा साढे २८ प्रतिशत मात्रै इन्जिनियर उत्तिर्ण भएको बताए। उनले इन्जिनियर सम्बन्धी २० विधामा परीक्षा भएको समेत जानकारी दिए।

इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो।

उतिर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभरी इन्जिनियरका रुपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ।

उनले भने, ‘हाम्रो ऐन अनुसार परीक्ष लियौँ। फरक फरक २० वटा विधामा जाँच भएकोमा भएको परीक्षामा लगभग साढे २८ प्रतिशत मात्रै उत्तिर्ण भए।’

अब इन्जिनियरिङसम्बन्धी कुनैपनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तिर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।