Logo
१८ वैशाख २०८१, मंगलबार

बीमा र अनुदानले चौँरीपालक किसान द‌ंग

अक्षरपाटी
२०७९ असोज ५ , बुधबार ११:०९ मा प्रकाशित

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन्।

जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको गतिलो माध्यम बनेको छ।

परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन्।

लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन्। एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई ५३ लाख अनुदान दिएको छ। साठी चौँरीका लागि ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि २० लाख अनुदान उपलब्ध भएको हो।

स्थानीय निमा शेर्पाका अनुसार चौँरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै सङ्कलन केन्द्र स्थापना गरिएको छ।

किसानको उत्साहलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौँरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए।

चौँरीखर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौँरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि शेयरमा परिणत गर्ने योजना बनाएको छ।

चाैंरी