




नेपाल–भारत आर्थिक साझेदारीमा सहकार्यको प्रतिबद्धता
काठमाडौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) का अध्यक्ष कुनाल कायालसँग भेटवार्ता गरेका छन्।
भारतीय दूतावासमा आज भएको भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, आर्थिक तथा लगानी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ।
भेटका क्रममा राजदूत दलेलाले नेपाल–भारतबीचको व्यापार तथा आर्थिक सम्बन्ध विस्तारमा एनआईसीसीआईले गर्दै आएको योगदानको प्रशंसा गरे।
एनआईसीसीआईले पछिल्ला तीन दशकदेखि विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको व्यापार, आर्थिक सहकार्य तथा लगानी सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राजदूत दलेलाले उल्लेख गरे।
राजदूत डलेलाले एनआईसीसीआईका प्राथमिकता र गतिविधिप्रति प्रशंसा व्यक्त गर्दै नेपालमा रहेको व्यावसायिक समुदायसँग सहकार्यलाई अझ घनिष्ठ बनाउँदै लैजान भारतीय दूतावास तयार रहेको बताए।
नेपाल–भारतबीचको व्यापार तथा आर्थिक साझेदारीलाई थप अघि बढाउन एनआईसीसीआई र नेपाली व्यवसायी समुदायसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
भेटवार्ताले दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्दै व्यापार र लगानीका नयाँ सम्भावना पहिचान गर्न निजी क्षेत्रबीचको सहकार्यलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ।


