काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थीको परिचयपत्र बनाउनेलाई संरक्षण दिने नेताहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग उठेको छ।
त्यस्तै आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडियो टेपबारे संसदीय छानबिन समिति गठनको माग समेत उठेको छ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सांसद श्रेष्ठले मन्त्री बन्न कोर टिमलाई बुझाउनुपर्ने भनेकाले यसबारे संसदीय समिति गठन गरि छानबिन गरिनुपर्ने बताए।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मन्त्री बन्न पैशा बुझाउनुपर्ने विषयमा सत्ता गठबन्धनका शिर्ष नेताले जवाफ दिनुपर्ने बताएका छन् ।
आफ्ना सांसदको अडियो टेप बाहिरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका छन् । सांसदहरुले अमेरिका पठाइदिने भन्दै नेपालीलाई नक्कली भुटानी शरणार्थीको परिचयपत्र बनाउने प्रकणमा मुछिएका नेतालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
यो प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक मुछिएका छन्। सांसदहरुले ललितपुरको बखुण्डोलमा अनुमतिविना निर्माण अघि बढाइएको समिट अपार्टमेन्टका कारण निजी घर भासिएको विषयमा दोषीलाई कारबाहीको माग गरे।
बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंहदरबारबारको फोहोर नउठाउने घोषणा गरेका काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसँग तत्काल सम्वाद गरी समस्याको समाधान खोज्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए।
थापाले अन्तर प्रदेश परिषद् र राष्ट्रिय समन्वय परिषद्लाई सक्रिय तुल्याउन तथा मन्त्रीहरुलाई प्रदेश र स्थानीय तहहसँग समन्वय गरी काम गराउन पनि प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन्।