


o रोहित राज गिरी
साउन महिना सकिएको केही समय मात्रै भएको छ । शिवालयका प्राङ्गणमा केही दिनअघिसम्म देखिएको त्यो भीड विस्तारै पातलिँदै गएको छ । बिहानैदेखि शिवालयमा बज्ने घण्टी, धूपको सुगन्ध, निधारमा चन्दन र हातमा फूल बोकेर भगवान् शिवको दर्शनका लागि लामबद्ध भक्तजनका दृश्य विस्तारै पातलिँदै गएका छन्।
साउन हिन्दू धर्मावलम्बीका लागि केवल एउटा महिना मात्र होइन, आस्था र विश्वाससँग जोडिएको विशेष समयावधि पनि हो। यही महिनामा मानिसहरू भगवान् शिवको दर्शन गर्न टाढाटाढाबाट तीर्थाटन गर्छन्। कोही उपवास बस्छन्, कोही परिवारको सुख–शान्तिका लागि पूजाअर्चनामा ध्यानमग्न हुन्छन्।
तर ती मानिसहरू केवल पूजाअर्चनाका लागि मात्र मन्दिर पुगेका हुँदैनन्। उनीहरू आफ्नो साथमा धेरै कुरा बोकेर आएका हुन्छन्।
कसैको घरमा समस्या हुन्छ । कसैको आर्थिक अवस्था कमजोर हुन्छ । कसैको परिवारमा बिरामी सदस्य हुन्छन्।
कसैको मनमा भविष्यको चिन्ता हुन्छ । कसैले आफ्नो प्रिय मान्छे गुमाएको हुन्छ । कसैको जीवनमा नदेखिने हजारौँ पीडा हुन्छन्। कसैले प्रियजनसँगको सम्बन्धका विषय हुन्छन्।
तर मन्दिर पुग्दा उनीहरू केही समयका लागि ती सबै कुरा बिर्सन चाहन्छन्। भगवानको अगाडि उभिएर दुई हात जोड्न चाहन्छन्। आँखा बन्द गरेर मन हलुका बनाउन चाहन्छन्।
र सायद मनमनै भन्छन्–
‘हे भगवान्, बाहिरी संसारले जति दुःख दिए पनि, तपाईँको घरमा आएपछि कम्तीमा केही क्षण शान्ति पाऊँ।’
कल्पना गरौं त, यदि भगवानको घरमै फेरि मन दुख्यो भने?
घण्टौँ यात्रा गरेर एउटा भक्त मन्दिर पुग्छ। लामो लाइनमा उभिन्छ। आफ्नो पालो पर्खिन्छ। भीड, गर्मी, थकान सबै सहन्छ। उसले केही गुनासो गर्दैन। किनकि उसको मनमा एउटै कुरा हुन्छ– ‘आज भगवानको दर्शन पाएपछि सबै दुःख बिर्सिन्छु।’
तर उसकै अगाडि कुनै पहुँचवाला मानिस आउँछ। ढोका खुल्छ। ऊ सहजै भित्र पस्छन्। क्षणभरमै दर्शन गर्छ र निश्कन्छ। त्यो मात्र होइन, ऊ विशेष सम्मान पाउँछन्। अनि फेरि उही लामवद्ध सर्वसाधारण भक्तहरूकै अगाडि फराकिलो छाती बनाएर निस्किन्छन्।
त्यो दृश्य लाइनमा उभिएको भक्तले हेर्छ। ऊ केही बोल्दैन। किनकि ऊ भगवानको घरमा झगडा गर्न होइन, शान्ति खोज्दै आएको हो। तर उसको मनमा एउटा चोट भने नदेखिँदो बनेर लाग्छ।
‘बाहिर संसारमा पनि त पैसा, पहुँच र हैसियतकै आधारमा मानिस छुट्टिन्छन्। भगवानको घरमा आएपछि त सबै बराबर हुन्छन् होला भन्ने लागेको थियो। यहाँ पनि उस्तै रहेछ!’
त्यो क्षण यदि कुनै भक्तले भगवानको घरमा आएर असमान व्यवहार भोग्यो भने उसले दोष कसलाई देओस?
भगवानलाई?
पुजारीलाई?
व्यवस्थापन समितिलाई?
वा त्यो सामाजिक संस्कारलाई, जहाँ हामीले भगवानको घरसम्म पनि आफ्नो पद, पैसा र पहुँच पुर्याएका छौँ?
शायद त्यो दोष भगवानलाई दिन सजिलो होला। किनकि भगवानसँग प्रश्न गर्न सकिँदैन। प्रश्न गरे पनि जवाफ पाइँदैन।
तर सत्य के हो भने– भगवानले कसैलाई लाइन मिचेर अगाडि आउन कदापी भनेका हुँदैनन्।
भगवानले कसैलाई अर्को भक्तभन्दा ठूलो बन्न आदेश दिएका हुँदैनन्।
भगवानले कसैको श्रद्धा कमसल र कसैको श्रद्धा गाढा भनेर प्रमाणपत्र दिएका हुँदैनन्।
मानिसले बनाएको व्यवस्थामा यदि विभेद छ भने, त्यसको जिम्मेवार पनि मानिसै हो।
पुजारी, पूजा गराउने व्यक्ति मात्र होइनन् । मन्दिरको पुजारीका हातबाट भक्तले प्रसाद पाउँछन्। उनको मुखबाट मन्त्र सुन्छन्। उनले भगवानको आशीर्वादको अनुभूति गराउँछन्। भक्तले गर्छन। त्यसैले पुजारी भक्त र भगवानबीचको एउटा सम्बन्धको सेतुजस्तै हो भन्दा हुन्छ। त्यो अवस्थामा पुजारीको एउटा मुस्कानले थाकेको भक्तको मन जित्न सक्छ। एउटा मीठो शब्दले उसको दुःखको आयतन केही खुम्चन सक्छ। तर त्यही पुजारीको व्यवहारले कसैलाई सानो महसुस गरायो भने त्यो चोट झन कति गहिरो होला!
किनकि त्यो भक्तले सामान्य ठाउँमा अपमानित भएको महसुस गरेको हुँदैन। उसले भगवानको घरमा अपमानित भएको महसुस गरेको हुन्छ। त्यसैले धार्मिक स्थलमा सेवा गर्ने मानिसको व्यवहार सामान्य सेवास्थलभन्दा पनि संवेदनशील विषय हो।
मन्दिर सञ्चालन गर्नु भनेको केवल पूजाको व्यवस्था गर्नु मात्र होइन। त्यहाँ आउने मानिसको भावना पनि व्यवस्थापन गर्नु हो।
विशिष्ट व्यक्तिको आगमन हुँदा सामान्य भक्तको दर्शनमा अनावश्यक अवरोध नहोस् भनेर कसरी व्यवस्था गर्ने?
यी सबै व्यवस्थापनकै विषय हुन्। यहाँ सित्तैको सल्लाहा मनासिब नहोला!
विशिष्ट व्यक्तिलाई सम्मान गर्नु गलत होइन। तर त्यो सम्मानले अरू भक्तलाई अपमानित महसुस गराउनु पनि सही होइन। किनकि त्यो सामान्य भक्त पनि एउटा कथा बोकेर आएको हुन्छ । एउटा भरोसा लिएर आएको हुन्छ। समभावको अपेक्षा गरेरै भगवानको द्वारमा उभिएको हुन्छ।
लाइनमा उभिएका ति वृद्धलाई हामीले केवल एउटा भक्त मात्र देखिरहेका हुन्छौँ। तर सायद उनले जीवनभर दुःख र कष्ट भोगेर परिवार हुर्काएका होलान।
ति आमाले सायद आफ्नो सन्तानको स्वास्थ्यका लागि व्रत बसेकी होलिन।
ति युवकले सायद विदेश जानुअघि भगवानसँग आशीर्वाद माग्न आएका होलान।
त्यो परिवारले सायद घरमा भएको कुनै ठूलो समस्याबाट मुक्तिको आशा संगालेर आएको होला।
हामीलाई उनीहरूको कथा थाहा हुँदैन।
हामीले देख्ने भनेको मात्र लाइनमा उभिएको एउटा मानिस हो।
तर उसको मनभित्र एउटा संसार हुन्छ। एउटा छुट्टै कथा हुन्छ ।
त्यसैले उसको केही मिनेटको दर्शन पनि उसका लागि निकै ठूलो प्राप्ती हुन सक्छ।
उसलाई अगाडि जान नदिएको पीडा मात्र होइन, उसलाई अरूभन्दा कमसल ठानिएको अनुभूति नै सबैभन्दा ठूलो चोट हुन सक्छ।
धर्मले हामीलाई के सिकाउँछ?
दया!
करुणा!
समानता!
सेवा!
विनम्रता!
मानवता!
त्यसो हो भने मन्दिरमा पुगेको भक्तले यी कुराको अनुभूति गर्न पाउनुपर्छ। मन्दिरबाट बाहिर निस्कँदा उसको मनमा यस्तो भाव सञ्चार हुनुपर्छ– ‘आज मैले भगवानको दर्शन मात्र गरिनँ, असल व्यवहार पनि पाएँ।’
अन्ततः एउटा कुरा,
मानिस मन्दिरमा आफ्नो दुःख लिएर जान्छ। भगवानको अगाडि त्यो दुःख बिसाउन चाहन्छ। आँखा बन्द गर्छ। केही क्षणका लागि संसार बिर्सन्छ। उसलाई लाग्छ– ‘यहाँ त म र मेरो भगवान् मात्र छौँ।’
त्यही क्षण यदि उसको अगाडि फेरि पद, पहुँच, पैसा र हैसियतको पर्खाल उभियो भने उसले आफ्नो मनको पीडा कहाँ राख्ने? कसलाई दोष दिने ?
भगवानलाई दोष दिने?
सायद होइन।
किनकि भगवानको घरमा विभेद भगवानले होइन, मानिसले सुरु गरेको हो। र त्यसलाई हटाउने जिम्मेवारी पनि हामी मानिसकै हो। मन्दिर सबैको साझा आस्था स्थल हो। त्यसैले त्यहाँ प्रवेश गर्दा कसैले आफ्नो पद ढोकाबाहिर छोड्नुपर्छ, कसैले आफ्नो पैसा, कसैले आफ्नो पहुँच त कसैले आफ्नो रबाफ।
अनि व्यवस्थापकले पनि एउटा कुरा सम्झनुपर्छ–
भगवानको ढोकामा पुगेको सामान्य भक्तको हातमा ठूलो दान नहोला, पछाडि ठूलो मान्छे नहोला, नाम चर्चित नहोला; तर उसको हात जोडिएको छ, आँखामा विश्वास छ र मनमा भगवानप्रतिको आस्था उच्च छ । आस्था हुन्थेन भने ऊ मन्दिर होइन, कुनै महेखानामा हुन्थ्यो सायद!
त्यसैले उसको श्रद्धालाई पनि त्यत्तिकै सम्मान गरौँ। किनकि अन्ततः भगवानको घरबाट फर्कँदा भक्तले साथमा लैजानुपर्ने कुरा एउटा मात्रै हो- मनको शान्ति।
आलेख भगवानको घर रोहित राज गिरी

