० रोहित गिरी
कैलाली। गेटामा निर्माणाधीन संरचनालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउ माग गर्दै आमहडताल गरिएको छ।
सरकारले विश्वविद्यालय बनाउन गरिसकेको निर्णय कार्यान्वयनको माग गर्दै सुदूरपश्चिममा आज आमअडताल गरिएको हो। केही व्यक्ति र समूहको स्वार्थमा विश्वविद्यालय बनाउन अडचन भइरहेको भन्दै यहाँका बासिन्दा आन्दोलनमा उत्रेका हुन्।
विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले गरेको आन्दोलनका क्रममा आज बन्द गराउँदै हिँडेका पाँच जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ।
मन्त्रीको गाडीमा ढुंगा प्रहार गरेको भन्दै उनीहरुलाई प्रदेशसभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।
आज सुदूरपश्चिमका बासिन्दाले यहाँका संसदलाई विश्वविद्यालय स्थापनाका लागि दबाब स्वरुप एसएमएस पठाउने अभियान पनि चालेका छन्।
बन्दका कारण प्रदेशभरका नौवटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी चलेका छ्रनन्।
२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो।
तर, आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको छ ।
६ अर्बको लागतमा ४२ वटा भवन निर्माण हुँदा पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन ध्यान नदिएपछि बाध्य भएर आम हडताल गरिएको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए।
गेटा विज्ञान विश्वविद्यालय