


धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पूर्वसन्ध्यामा साइकलमार्फत संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले ‘ओल्के हेरिटेज राइड २०८३’ सुदूरपश्चिमका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ।
फारवेष्ट राइडरको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा डोटीको बुडरमा एकैपटक साइकल यात्रा गरिएको थियो।
फारवेष्ट राइडरका संस्थापक अध्यक्ष भरत विक्रम शाहका अनुसार केही दिनअघि साइकल यात्राका क्रममा परिकल्पना गरिएको कार्यक्रमलाई विभिन्न स्थानका साइकलप्रेमीको सहभागिताले सफल बनाएको हो। धनगढीस्थित निसर्ग अस्पतालको मुख्य प्रायोजनमा आयोजित कार्यक्रममा महिला तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले सुदूरपश्चिमको मौलिक संस्कृति, ऐतिहासिक तथा पर्यटकीय सम्पदासँग साइकल यात्रालाई जोड्दै साइकल संस्कृतिको विकास र स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा जोड दिएको छ।

नियमित साइकल चलाउँदा शारीरिक सक्रियता बढ्नुका साथै तौल व्यवस्थापन र व्यायामको बानी विकास गर्न सहयोग पुग्ने भएकाले युवा पुस्तालाई साइकलसँग जोड्न आवश्यक रहेको आयोजकको भनाइ छ। महिला तथा बालबालिकाको सहभागिताले साइकल यात्रा परिवार र समुदायसँग जोडिँदै गएकोसमेत देखाएको छ।
त्यस्तै, छोटो दूरीमा साइकलको प्रयोग बढाउन सके इन्धन खपत र सवारीजन्य प्रदूषण घटाउन सहयोग पुग्ने भएकाले कार्यक्रमले वातावरण संरक्षणको सन्देशसमेत दिएको छ। बढ्दो सवारी चाप भएका सहरमा साइकलमैत्री पूर्वाधार र सुरक्षित साइकल लेन निर्माणको आवश्यकता पनि यसले उजागर गरेको छ।
साइकल यात्रामार्फत सुदूरपश्चिमका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने आयोजकको विश्वास छ। व्यवस्थित साइकल रुट, पार्किङ, विश्रामस्थल र सुरक्षित सडक पूर्वाधार निर्माण गर्न सके प्रदेशलाई साइकल पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनीहरूको भनाइ छ।
आठ स्थानमा एकैपटक सम्पन्न ‘ओल्के हेरिटेज राइड’ले साइकललाई केवल यातायातको साधन नभई स्वस्थ जीवनशैली, स्वच्छ वातावरण, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनको माध्यम बनाउन सकिने सन्देश दिएको छ।
ओल्के हेरिटेज राइड

