काठमाडौं ४ असार। कोशी प्रदेश सरकारले बाढी पहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाई तत्काल १ एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई १ लाखको दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाइ राहतस्वरुप एक लाख प्रदान गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।
घाइतेहरुको उपचार, भौतिक संरचना पुनःनिर्माण, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय सरकारले गरेको छ।
शनिबार राति आएको वर्षाका कारण ताप्लेजुङसहित पाँचथर र संखुवासभामा अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २८ जना बेपत्ता छन्।
मनसुनको सुरुवातमै शनिबार राति परेको अविरल वर्षाले पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा क्षति पुर्याएको हो ।
प्रदेश प्रहरी कार्यालय कोसीकाअनुसार हालसम्म ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरमा दुई, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा एक–एकजना छन् ।