Logo
२६ पुस २०८१, शुक्रबार

भारतको गौरीकुण्डमा पहिरो, १३ नेपालीसहित १९ जना बेपत्ता, मृतक तीन नेपालीको पहिचान खुल्यो

अक्षरपाटी
२०८० साउन २० , शनिबार ०४:०८ मा प्रकाशित

काठमाडौं २० साउन। बिहीबार राति उत्तराखण्डको धार्मिक स्थल रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरो जाँदा बेपत्ता भएका १३ नेपालीसहित १९ जनामध्ये तीन नेपालीको शवको पहिचान भएको छ।

जसमा कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामी रहको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय मिडियाले जनाएका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालीकोट घर भइ गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जना नेपालीको आफन्तमार्फत पहिचान खुलेको हो।

‘घटनास्थलमै रहेका आफन्तबाट तीन जनाको पहिचान खुलेको हो’ उनले बताए।

घटनास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएको चर्तुवेदीले बताए।

बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए। बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। बेपत्ताहरुको खोजी भइरहेको छ।