Logo
९ पुस २०८१, मंगलबार

कागबेनीमा बाढी पसेका घरको सफाइ र मर्मतको काम शुरु

अक्षरपाटी
२०८० साउन ३१ , बुधबार १०:०८ मा प्रकाशित


काठमाण्डौ,३१ साउन । मुस्ताङको कागबेनीमा बाढी पसेका घर तथा संरचनाको सफाइ र मर्मतको काम शुरु भएको छ ।

आइतवार राति बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी आएपछि २९ वटा घर तथा खानेपानी, बिजुली, विद्यालय, धर्मशालालगायतका संरचनामा क्षति पुगेको छ । कागबेनी बजार नै बगर भएको छ ।

क्षति पुगेका भौतिक संरचनाको सरसफाइ तथा खानेपानी र बिजुलीको व्यवस्थापन थालिएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।

बाढीपीडितलाई पालिका र प्रशासनको सहयोगमा सुरक्षित ठाउँमा राखिएको छ । स्थानीयबासिन्दा समाजका विभिन्न मानिसका घर तथा आफन्तकोमा बसेका छन् ।

त्यस्तै जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६२ जना मजदुरलाई सम्बन्धित ठेकेदारले बस्ने व्यवस्था मिलाएको र आवश्यक परेमा कागबेनी र जोमसोमको समाज घरमा राख्नेगरी तयारी भएको छ ।

प्रभावित स्थानीयबासिन्दालाई तत्कालका लागि गाँसबास, कपासको व्यवस्था बारागुङ र घरपझोङ गाउँपालिकाले गरेको छ ।

बाढीले पोल र खानेपानीको पाइप बगाउँदा बगाउँदा अवरुद्ध भएको विद्युत् तथा खानेपानीको सेवा नियमित गर्ने प्रयास भैरहेको छ ।

बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ । मानिस हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको छ ।

बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा जोड्ने सडक सम्बन्ध टुटेको छ ।

प्रतिकुल मौसमका कारण जोमसोम–पोखरा हवाई उडान पनि बन्द छ ।

मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा सडक खुलाउने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो ।

जिल्लामा सक्रिय रेडक्रसलगायतले तत्कालका लागि दैनिक उपभोग्य खाद्यान्न र अरु सामग्रीको बन्दोबस्त गरे पनि बाहिरबाट ढुवानी हुन सकेको छैन ।

गण्डकी प्रदेश सरकारले हिजो ट्याक्टरबाट तीन हजार लिटर डिजल पठाएको छ ।

डिजल आइपुगेको र यसले संरचना मर्मतका लागि स्काभेटर चलाउन सहज हुने प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।

साथै प्रदेश सरकारले प्रभावितलाई राहत र पुनर्स्थापनाको कामका लागि सबैलाई केन्द्रित हुन अनुरोध गरेको छ ।

केन्द्र सरकारले मुस्ताङमा भेलपहिरोले पुर्‍याएको क्षतिको सम्बोधन गर्ने निर्णय गरेको छ । पूर्ण रूपमा क्षतिग्रस्त भएका घरका बासिन्दाका लागि निजी आवास निर्माण अघि बढाउने निर्णय भएको छ ।

माथिल्लो मुस्ताङ जाने पक्की पुल भत्किएकाले लोमान्थाङ नाका जोड्नका लागि तत्काल आवश्यक पहल गर्ने, त्यहाँसम्म पुग्ने बेसीसहरको बाटो पहिरोले भत्किएको अवस्थासहितको आंकलन गरेर निर्माणका लागि सडक डिभिजन कार्यालय तथा अन्य प्राविधिक टोली त्यसक्षेत्रमा पठाउने तयारी छ ।

सडक मार्गबाट स्रोत साधन पुर्याउन नसके हेलिकोप्टरबाट आवश्यक तेल तथा अन्य सामग्री त्यहाँ पुर्‍याउने निर्णय भएको छ ।