



काठमाडाैं। दाङमा तीन महिना अघि एक युवाले युवतिलाई खुकुरी देखाउँदै तर्साएको भिडियो भाइरल भयो।
गत चैतमा रातिको बेला दाङको तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगरले युवतीलाई उल्टो खुकुरीले हान्दै
गालीगलाैँज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
रमेशले तुलसीपुरकै २१ वर्षीया एक युवतीलाई अश्लील शब्दसहित गालीगलौज गर्दै खुकुरी प्रहार गरेको भिडियोको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा रमेशसँगै २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रमेशको साथबाट झण्डै ५० ट्याब्लेट लागुऔषधसमेत बरामद भएको दाङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रेगाम्याक्स, एक ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोम ५ ट्याब्लेट बरामद भएको छ।




